एजेन्सी – चीनबाट सुरु भएको कोरोना भाइरसको महामारीले अमेरिकामा विकराल रुप लिएको छ । अमेरिकामा करीब पौने २ लाख मानिस कोरोनाको संक्रमणमा परेका छन् र ३ हजार भन्दा बढी मानिसले आफ्नो ज्यान गुमाएका छन् ।
यो संख्या २००१ मा भएको आतंकवादी हमलामा मारिएका मानिसको भन्दा पनि बढी हो । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले देशवाशीलाई यसको खराब अवस्थाका लागि तयार हुनका लागि आग्रह गरेका छन् ।
मंगलबार ह्वाइट हाउसमा मिडियासँग उनले भने, ‘आगामी दुई साता अत्यन्त दर्दनाक हुने छ । यस्तो अवस्थामा हामी तयार हुनु आवश्यक छ । जे हाल सम्म हामीलाई भएको छ, त्यो भन्दा पनि खराब अवस्था आउन सक्छ ।’
अमेरिकाले हजारौं मानिस गुमाइसकेको र यो संख्या अझै बढ्ने उनले बताए ।
ह्वाइट हाउसको एक अनुमान अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा १ लाखदेखि साढे २ लाख सम्मको ज्यान जान सक्ने देखिएको छ । यसपछि ट्रम्पले खराब अवस्थाका लागि तयार हुन उनले आग्रह गरेका हुन् ।
अमेरिकामा २००१ मा न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरमा आतंकवादी हमला भएको थियो । अमेरिकी सरकारका अनुसार उक्त हमलामा २९९८ मानिसको मृत्यु भएको थियो ।
अमेरिकी इतिहासमा यसलाई सबैभन्दा ठूलो झट्का मानिएको थियो । तर हाल कोरोना भाइरसको महामारीले विश्वकै शक्तिशाली देशलाई पनि घुडा टेकाएको छ ।
बुधबार बिहानसम्मको ताजाँ आंकडा अनुसार अमेरिकामा कोरोना भाइरसबाट १ लाख ८८ हजार भन्दा बढी संक्रमित भएका छन् । ३८८३ मानिसले ज्यान गुमाइसकेका छन् ।




प्रतिक्रिया