काभ्रे-२ मा काँग्रेसका हुमागाईँ र एमाले बास्कोटाबीच कडा टक्कर

काभ्रे-२ मा काँग्रेसका हुमागाईँ र एमाले बास्कोटाबीच कडा टक्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी अभियानमा लागेका छन् । यसैबीच चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।

यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने देखिएको छ ।

दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् ।

बाँस्कोटा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निकट मानिनुहुन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत हुनु भएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाई २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा भएका थिए । साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए ।

हुमागाईँ र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाईँ र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ ।

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन् । २०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।