काठमाडौं – सरकारका प्रवक्ता गोकुल प्रसद बास्कोटाले नेत्रविक्राम चन्द विप्लव समूहले वार्ताका राखेका सर्त अस्वीकार गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले वार्ताका लागि विप्लव समूहले राखेका शर्त अस्वीकार गरेका हुन् ।
‘छद्मभेषी कुराको पछि सरकार लाग्दैन, जातो घुमेजस्तो प्रतिबन्ध फिर्ता गर, कार्यकर्ता रिहा गर भनेर शर्त राख्नु पर्दैन । संविधान मान, हिंसा छाड, वक्तव्यको काम छैन,’ मन्त्री बास्कोटाले भने, ‘अहिलेको संविधानले जे राजनीतिक अधिकार दिएको छ । शान्तिपूर्ण गतिविधि गर्छाै भने न प्रतिबन्ध लगाउनुपर्छ, न पक्राउ नै ।’
सरकारले विप्लव समूहका गतिविधि नेपाल राष्ट्रको अहितमा चलाएको राष्ट्रघाती कदम भएको आरोप लगाएको छ ।
‘हिंसा मच्चाउनको लागि चन्दा उठाउनको लागि गरिएका काम समग्रमा यो नेपालको अहितमा रचालिएको राष्ट्रघाती कदम हो । शर्त चाहिएन, वक्तव्य जारी गरेर हिंसा छाड्यो, शान्ति रोज्यो भने हुन्छ,’ मन्त्री बास्कोटाले भने ।
यसअघि सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै विप्लवले प्रतिबन्ध हटाएमा सरकारसँग वार्ताका लागि लचिलो बन्ने बताएका थिए ।
प्रवक्ता गोकुल बास्कोटाले राजनीतिक प्रतिशोधकै आधारमा पक्राउ पर्ने भए निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ नै नपर्ने तर्क गरेका छन् ।
उनले कानुन, विधिको शासन कायम गराउन लागिपरेको बताउँदै राजनीतिमा अपराधीकरण र भ्रष्टीकरण हुन नदिने बताए । उनले सरकार राजनीतिक दृष्टिकोणका आधारमा नभई कानुनी आधारमा चल्ने पनि प्रष्ट पारे ।
‘अकूत भ्रष्टाचार, अपराध गरेर आर्जन गरेको राजनीतिक सफलता पानीको फोका हो,’ उनले भने, ‘सुन तस्कार, अपराधी पक्राउ पर्दा राजनीतिक प्रतिशोध हुँदैन ।’
साथै मन्त्री बास्सकोटाले बास्कोटाले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालमा चीनको प्रभावमात्रै नबढेको बरु नेपालको प्रभाव पनि अन्यत्र विस्तारित भएको बताए । ‘हामी कसैको दबाबमा परेका छैनौं । प्रभावमा पनि पर्दैनौँ । हाम्रा सम्बन्धहरू विस्तार गर्ने कुरा हो,’ उनले भने ।
उनले नेपालले छिमेकी देश र अन्य मुलुकहरूसँग दौत्य सम्बन्ध स्थापित गरिरहेको बताउँदै सीको भ्रमण त्यसैको निरन्तरता भएको बताए । ‘प्रभाव होइन, इन्गेजमेन्टचाहिँ बढेको छ, पर्यटन, कनेक्टिभिटि, विकासका साझा आकांक्षा बढेको छ,’ उनले भने ।




प्रतिक्रिया