काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा हल्लामात्रै भएको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बास्कोटाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा हल्लामात्रै भएको बताएका हुन् ।
‘विशेष दूतको सन्दर्भमा मिडियाबाटै थाहा पाए । मिडियामै चर्चा भयो, मिडियामै सेलायो,’ उनले भने । सरकारले सीमा विवाद समाधानका लागि विशेष दूत पठाउन सक्ने भए पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएका कारण ढिलाई भएको बास्कोटाको भनाइ थियो ।
‘सरकारले विशेष दूत पठाउन सक्छ । हामीले यो गर्दैछौं भन्ने जानकारी दिनुपर्छ । यसबीचमा प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो अहिले सुधार भइरहेको छ,’ उनले भने, ‘यो विषयलाई विभिन्न ट्रयाकहरुबाट अगाडि बढाउनुपर्छ । जसरी विषय पुरानो त्यसरी नै हामीले अडान राख्नुपर्छ । सत्यतथ्यलाई जम्मा गर्ने र कन्भिन्स गर्दै जानुपर्छ । एउटा नयाँ बाटो लिनुपर्छ । मल्टीपल ट्रयाकबाट अगाडि बढ्नुपर्छ ।’
मन्त्री बास्कोटाले भारतले सीमा अतिक्रमण गरेको लिपुलेक र कालापानीको मात्रै नभएर लिम्पयाधुराकै विषयमा प्रश्न खडा भएको बताए । ‘लिपुलेक र कालपानीको प्रश्न नै होइन प्रश्न लिम्पियाधुराको हो । सुस्ताको पनि प्रश्न होइन,’ उनले भने ।
बास्कोटाले सीमा स्तम्भ राख्न बाँकी रहेका ठूला नदीहरुमा नेपाल र भारत दुबैले संयुक्त रुपमा राख्नुपर्नेमा जोड दिए । ‘जति सुकै खर्चिलो भए पनि हामी पछाडि फर्किन मिल्दैन । संयुक्त रुपमा सीमा स्तम्भ राखिनुपर्छ,’ उनले भने, ‘भारत एक्लैलाई गर्न दिने भन्ने कुरा सत्यतामा आधारित छैन् ।’




प्रतिक्रिया