राजकीय अवतारमा गोकुल बाँस्कोटाः हलक्क उदाउँदा–उदाउँदै फ्याट्ट अस्ताए !

राजकीय अवतारमा गोकुल बाँस्कोटाः हलक्क उदाउँदा–उदाउँदै फ्याट्ट अस्ताए !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – खरो र रुखो स्वभावका सरकारका तत्कालीन प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँकेको कोहलपुरमा गोरखापत्र दैनिकको क्षेत्रीय संस्करणको शुभारम्भ समारोहमा भनेका थिए, ‘एक आँखे प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नुपर्दछ । तर प्रेसको अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौं र काम गर्न छोड्दैनौं ।’

पत्रकारितालाई शिकारीको संज्ञा दिएको राति नै हाम्राकुरा डटकममा प्रकाशित भएको मन्त्री बाँस्कोटाको अडियो संवादका कारण उनले पदबाटै राजीनामा दिनुपरेको छ । अनलाइनको समाचारले मन्त्री पदको शिकार गरिदिएको छ । बुधवार गोरखापत्रको कार्यक्रममा बोल्दा मन्त्री बाँस्कोटाले ‘जति ठोके पनि केही फरकै पर्दैन’ भनेपछि समाचारले फरक पारेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसन मागेको अडियो संवाद सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा एकाएक विवादमा आए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुझाव र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री बाँस्कोटाले आकस्मिक रुपमा पदबाट राजीनामा दिए ।

हलक्क उदाएका बाँस्कोटा

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बाँस्कोटा ओली सरकारमा २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त भए । पार्टीभित्र वरिष्ठ हैसियतमा नभएकाले प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री अरु नै वरिष्ठ नेतालाई नियुक्त गर्छन् भन्ने अनुमान थियो । तर ओलीले बाँस्कोटालाई नै २०७५ जेठमा मन्त्री नै बनाए । प्रधानमन्त्री ओलीको भक्तपुरस्थित घरमा बस्न थालेपछि बाँस्कोटा प्रधानमन्त्री निकट र विश्वासपात्रको रुपमा परिचित भए ।

राजकीय अवतारमा गोकुल बाँस्कोटा हलक्क उदाएका हुन् । नेकपामा उनीभन्दा वरिष्ठ कतिपय नेताले हालसम्म अवसर नै पाएका छैनन् । ओलीका विश्वासपात्र भएकाले उनले छिट्टै अवसर पाए । सरकारको प्रवक्ताका रुपमा उनले साप्ताहिक पत्रकार सम्मेलनमा व्यक्त गर्ने तर्क र शैली विवादित बन्न थाले । सरकार समर्थकसाझ बाँस्कोटा लोकप्रिय हुँदै गए भने आलोचकमाझ अलोकप्रिय ।

अधिकांश सरकारी निर्णयको बचाउमा बाँस्कोटाको प्रस्तुती प्रभावकारी र सशक्त हुन्थ्यो । केही दिनअघि प्रधानमन्त्री ओलीले नै बाँस्कोटाको प्रशंसा गरे । बाँस्कोटाको गृहजिल्ला काभ्रेमा आयोजित एक कार्यक्रममा ओलीले बाँस्कोटाको मुख हेरेपछि सरकारविरोधी व्यक्तिहरू तर्सिने गरेको बताए । समाजवादी पार्टी नेपालले सरकार छाडेपछि मन्त्रालयको दोहोरो जिम्मेवारी पाउनेमा बाँस्कोटा समेत थिए । उनले सञ्चार मन्त्रालय सँगसँगै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाए । उनी ओलीका एकदमै विश्वासपात्रको रुपमा उदाएका थिए ।

राजकीय पदबाट १५ घण्टाभित्रै फ्याट्ट अस्ताए !

सञ्चारमाध्यममा बाँस्कोटाको आवाजमा घुस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएको लगभग १५ घण्टाभित्रै बाँस्कोटाले राजकीय पदबाट राजीनामा दिनुपरेको छ । राजकीय मामिलामा उनी जसरी हलक्क उदाए, त्यसैगरी फ्याट्ट अस्ताएका छन् ।

अडियो संवाद सार्वजनिक भएपछि कांग्रेस आक्रामक बन्यो । बिहान प्रेस विज्ञप्ति जारी, त्यसपछि पत्रकार सम्मेलन हुँदै कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधि सभाका दुवै बैठक अवरुद्ध गरेको छ । कांग्रेसले पदबाट राजीनामा दिएर मात्रै नहुने भएकाले छानबिन गर्दै थप कारवाही हुनुपर्ने माग समेत गरेको छ । केही दिनअघि पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउँदा रिसाएको कांग्रेसले नेकपामाथि रिसइबी साध्ने मौका र प्रतिपक्षी दायित्व निर्वाह गर्ने जिम्मेवारी पाएको छ ।

नेकपाभित्र ओलीइतरको समूहप्रति आक्रामक रुपमा प्रस्तुत हुने बाँस्कोटालाई विवादमा पर्दा थप घाटा लाग्यो । ओलीइतर समूहको नेतृत्व गर्ने अध्यक्ष प्रचण्डले राजीनामा गराउन ओलीलाई सुझाव दिए । जसले गर्दा ओलीले बाँस्कोटालाई बचाउन सक्ने अवस्था भएन । उनी सरकारबाट अलग हुनुप¥यो ।

सामाजिक सञ्जालमा समेत बाँस्कोटा आलोचनाको शिकार भएका छन् । संवादमा बाँस्कोटाले सरकारी कर्मचारीहरूप्रति व्यक्त गरेको अश्लील शब्दले समेत झनै अप्ठ्यारोमा पारेको छ । ओली समूहबाहेक सरकारी कर्मचारी र सर्वसाधारणप्रति बाँस्कोटाको शैली र सोच नै गलत रहेको विश्लेषण संवादमाथि भइरहेको छ । राज्यकोषको ढुकुटीमाथि लुट मच्चिने गरी करोडौंको घुसकाण्ड सम्बन्धी संवादले बाँस्कोटाको आगामी राजनीतिक भविष्य समेत सुखद देखिँदैन । अब राजनीतिका हरेक पाइलामा बाँस्कोटाले घुस प्रकरणको सामना गरिरहनुपर्ने भएको छ ।