काठमाडौं – शीर्ष इरानी सैन्य कमाण्डरको हत्यापछि मध्यपूर्व क्षेत्रमा बढेको तनावले सुनको मूल्य झन्डै ७ वर्षकै उच्च विन्दुमा पुगेको छ । तेलको मूल्य पनि २०१९ को मध्यको समयकै हाराहारीमा पुगेको छ ।
राजनीतिक र आर्थिक अस्थिरताको समयमा सुरक्षित लगानी मानिने सुन सोमबार १।५ प्रतिशतले वृद्धि भएको छ । एक विन्दुमा यो बहुमूल्य धातुको मूल्य प्रति औंस १५७९.५५ डलर पुगेको थियो । यो मूल्य २०१३ को अप्रिलदेखिकै उच्च हो ।
यो मूल्य पछिल्लो समयमा आएर भने केही ओरालो लागेर प्रति औंश १५७१.९५ डलर कायम भएको छ । यो मूल्य पनि अघिल्लो कारोबार अवधिको तुलनामा १.३ प्रतिशतले बढी हो । अमेरिका–इरानबीचको बढ्दो तनावले सुनको मूल्य अझै बढ्ने गोल्डम्यान स्याक्सको अनुमान रहेको छ ।
‘समग्रमा ३,६ र १२ महिनाको अवधिमा १ हजार ६०० डलर पुग्ने अनुमान गरिएको छ । तर भू–राजनीतिक तनाव अझै खराब भएमा माथि जाने जोखिम अझै रहेको छ,’ संस्थाका रणनीतिकारले सोमबारको एक टिप्पणीमा बताएका छन् ।
अर्को बहुमूल्य धातु पालाडियमको मूल्य पनि उकालो लागेर प्रति औैंश २०११.४८ डलर पुगेको रोयटर्सले जनाएको छ ।
गत साताको बगदादमा अमेरिकी आक्रमणमा कासिम सोलेमानीको मृत्यू भएको समाचारले कच्चा तेलको मूल्य पनि बढ्दो क्रममा रहेको छ ।
अमेरिकी तेलको मूल्यमा २ प्रतिशतको वृद्धि भएर प्रति व्यारेल ६४.३२ डलर कायम भएको छ । यो अप्रिलदेखिकै उच्च मूल्य हो । ब्रेन्ट कच्चा तेलको मूल्य पनि २.३ प्रतिशत भन्दा बढीले वृद्धि भएर प्रति व्यारेल ७० डलर पुगेको छ । यो मूल्य मे महिनादेखिकै उच्च हो ।




प्रतिक्रिया