साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश उप्रेती यूएईमा पक्राउ


काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको थियो। उनी सो गिरोहका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोर’का भाई हुन्। उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न थिए। उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको छ।

त्यसका लागि यूएईको प्रहरीले नेपाल प्रहरीसँग उनीविरुद्धको अभियोग पत्र मागेको छ । उप्रेतीलाई फरार प्रतिवादी बनाई जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ। सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिसकेको छ।

जसमा मोहन अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको हो । यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement