काठमाण्डु– ‘नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने भाष्यलाई व्यवहारमै उतारेर प्रधानमन्त्री बालेन शाहले सबैलाई ‘सरप्राइज’ दिएका छन्। शुक्रबारकाे बजेट भाषण कार्यक्रममा प्रधानमन्त्री शाह स्वदेशी ब्रान्ड गोल्डस्टार जुत्ता लगाएर संघीय संसद्मा उपस्थित भए ।
कालो चश्मा र आफ्नै सिग्नेचर स्टाइलमा सधैँ देखिने बालेनको खुट्टामा जब मेड इन नेपाल जुत्ता देखियो, तब सामाजिक सञ्जालमा यसको चर्चा ह्वात्तै चुलियो।
बजेट भाषण सकिएपछि संसद् भवनमा सांसदहरूसँग हात मिलाउने क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद एवं ‘गोल्डस्टार’ जुत्ता उत्पादक किरण सुज कम्पनीकी प्रमुख विदुषी राणासँग कुराकानी गरेकाे अहिले भिडियाे र तस्बिर सामाजिक सञ्जालमा भाइरलनै बन्याे ।
भिडियोमा कालो व्लेजर कालो पाइन्ट लगाएर पुगेका शाहले आफूले लगाएको सेतो जुत्ता देखाउँदै राणालाई ‘मैले पनि गोल्डस्टार लगाएको छु।’ भनेका छन् । त्यसपछी राणाले ‘म त छक्कै परेँ भन्दै, नेपालको प्रधानमन्त्रीले हाम्रो जुत्ता लगाउनुहोला भनेर सोचेकी थिइनँ’ भन्ने अभिव्यक्ती दिइन् ।
प्रधानमन्त्रीले लगाएको जुत्ता गोल्डस्टारको नयाँ ‘आर्क सिरिज’ को रहेको र यसको बजार मूल्य करिब १४ सय रुपैयाँ पर्ने सांसद राणाले जानकारी दिइन्। प्रधानमन्त्रीले नेपाली ब्राण्ड प्रवर्द्धन गरेकोमा आफू खुद आश्चर्यमा परेको उनले बताइन्।
प्रधानमन्त्रीले नै विदेशी महँगा ब्रान्ड छाडेर नेपालकै रैथाने जुत्तालाई प्राथमिकता दिनु आफैँमा एउटा बलियो सन्देश भएकाे उनले बताएकी थिइन् ।
अहिलेका युवा पुस्ता विदेशी र मल्टिनेशनल ब्रान्डका पछि हुरुक्क हुने ट्रेन्ड छ। तर, देशकै प्रमुखले नै सामान्य नेपालीले लगाउने गोल्डस्टारलाई सानका साथ प्रवर्द्धन गरेपछि यसले मेड इन नेपालको गरिमालाई अर्को लेभलमा पुर्याइदिएको छ।
यसअघि पनि काठमाण्डुको मेयर हुँदा बालेनले नेपाली उत्पादन र रैथाने कला-संस्कृतिलाई जोड दिँदै आएका थिए। अहिले प्रधानमन्त्रीको कुर्सीमा पुग्दा पनि उनको त्यो लोकल क्रेज बदलिएको छैन। बालुवाटारदेखि सिंहदरबारसम्म गोल्डस्टारको यात्राले नेपाली उद्योगी र व्यवसायीहरूलाई पनि ठुलो हौसला मिलेको बजार विश्लेषकहरू बताउँछन्।
दशकौँदेखि हरेक नेपालीको घर-घरमा पुगेको गोल्डस्टार जुत्ता अचेल नयाँ र आधुनिक डिजाइनमा पनि पाइन थालेको छ। कलेज पढ्ने युवादेखि देश चलाउने प्रधानमन्त्रीसम्मको रोजाइमा परेपछि अब गोल्डस्टार केवल जुत्ता मात्र रहेन, यो नेपाली आत्मनिर्भरता र स्वाभिमानको एउटा ब्रान्ड बनेको छ।




प्रतिक्रिया