भारतीय गोलभेँडा ४५ रूपैयाँमा ब्रिकी हुँदा स्वदेशी गोलभेँडाले मूल्य पाएन

भारतीय गोलभेँडा ४५ रूपैयाँमा ब्रिकी हुँदा स्वदेशी गोलभेँडाले मूल्य पाएन


काठमाण्डु- गोलभेंडा उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् । आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी तरकारी बजार पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै गोलभेंडा फ्याँकेर विरोध जनाएका हुन् ।

किलोको ८ रूपैयाँमा गोलभेंडा बेच्नुपरेपछि फ्याँक्नुको विकल्प नभएको किसानहरुले बताएका छन् । उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेंडा फाल्ने किसानहरुको चेतावनी छ । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेंडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेंडा ८ रुपैयाँमा।

यसैबीच कालिमाटीमा किसानले गोलभेंडा फालेर विरोध गरेको विषयले संसद्‍मा प्रवेश गरेको छ। आइतबार प्रतिनिधसभा बैठकको आकस्मिक समयमा नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई अनुदान र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेका छन् ।

‘कालिमाटी चोकमा गोलभेंडा र तरकारी फ्याकेर किसान प्रदर्शनमा हुनुहुन्छ। उहाँहरुले उत्पादनबापतको लागत पाउनुभएको छैन। सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ। बजारको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्छ। बजार र मूल्य नपाएर तरकारी सुकेको छ, दूध किसानले सडकमा पोख्नुपरेको छ। किसानले गोलभेंडा फ्याँक्नुपरेको छ। किसानको दिगो समाधान गर्न क्षतिपूर्ति र अनुदानको व्यवस्था गरियोस्,’, उनले भने।