एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई उनको परिवारको निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ। यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला उनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार हटाइएको थियो।
न्यूजर्सीमा बिदा मनाउँदै गर्दा राष्ट्रपति ट्रम्पसँग आफ्नो पहुँचबारे वेस्टराउटले मदिरापान गर्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको छ। ट्रम्प राष्ट्रपति भएको पहिलो दिनदेखि नै वेस्टराउटले उनीसँगै काम गर्दै आएकी थिइन्। ह्वाइट हाउस सूत्रलाई उद्धृत गर्दे उसले वेस्टराउटलाई शुक्रवारदेखि नै ह्वाइट हाउसको कार्यकारी भवनमा आउन नदिइने उल्लेख गरेको थियो।
वेस्टराउटको राष्ट्रपतिप्रति प्रभावलाई दाँज्दै ट्रम्पको ’द्वारपाल’ भनेर अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई प्रस्तुत गर्दै आएका थिए। उनको कार्यकक्ष वेस्टविङस्थित राष्ट्रपतिको ओभल अफिसको ठिक सामुन्ने रहेको थियो उनले अनौपचारिक रात्रिभोजका बेला न्यूजर्सी्स्थित बर्कले हाइट्समा रहेको एउटा होटलमा पत्रकारहरूसँग गफगाफ गरेकी थिइन्। अगस्टको सुरुतिर यो घटनाका बेला राष्ट्रपति ट्रम्प न्यूजर्सीको बेडमिन्स्टरस्थित आफ्नो क्लबमा थिए।
सीबीएस न्यूजलाई सूत्रहरूले बताएअनुसार त्यतिखेर वेस्टराउटले मदिरा पिएकी थिइन् र उनले ट्रम्पको परिवारसँग सम्बन्धित विवरण चुहाएकी थिइन्। साथै प्रसारकहरूले राष्ट्रपतिसम्म पहुँच माग्न गरेका प्रयासबारे उनले टिप्पणी गरेकी थिइन्।
कैयौँ ह्वाइट हाउस अधिकारीहरूले लामो समयदेखि ट्रम्पप्रति वेस्टराउट बफादार नभएको शङ्का गरेका थिए। एक पूर्वअधिकारीले सीबीएसलाई भने, “उनी पहिलो दिनदेखि नै जासुसी गर्थिन्। राष्ट्रपतिसँगको निकटतालाई उनले राष्ट्रपतिका विरोधीहरूसँग विश्वास जित्न प्रयोग गर्थिन्।“ ट्रम्पको ह्वाइट हाउसबारे लेखिएका दुई किताबका अनुसार रिपब्लिकन न्याश्नल कमिटीकी पूर्वसहायक वेस्टराउट ट्रम्पले चुनाव जितेको दिन बेखुसी थिइन् र रोएकी थिइन्।




प्रतिक्रिया