कांग्रेस र कम्युनिस्टको गढमा झण्डा फहराउने रास्वपाको दाउ

कांग्रेस र कम्युनिस्टको गढमा झण्डा फहराउने रास्वपाको दाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुनको घामसँगै ऐतिहासिक जिल्ला गोरखामा चुनावी राप पनि निकै बढेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा टक्कर हुने देखिएको छ ।

पुराना पार्टीको दर्बिलो विरासत र रास्वपाको ‘पुरानालाई फेर्ने, नयाँलाई हेर्ने’ अभियानले यहाँ कसको पल्ला भारी होला भन्ने सवाल पेचिलो बनेको छ ।

सबै उम्मेदवार, दल र कार्यकर्ताहरु अहिले गाउँबस्तीका घरदैलोमा व्यस्त छन् । विशेषगरी मुख्य चार दलका उम्मेदवार, तिनका प्रभावशाली नेता र कार्यकर्ताहरू मतदातालाई आफ्नो पक्षमा पार्न हदैसम्मको मेहेनत गरिरहेका छन् ।

यसअघिको निर्वाचनमा खसेको मत विश्लेषण गर्दा कांग्रेस र नेकपाबीच सन्तुलित मत छ । दुईमध्य तेस्रोसँग तालमेल गर्नेले चुनाव जित्ने अभ्यास त्यहाँ थियो । तर अहिले देशभर रास्वपाले ल्याएको ‘नयाँलाई हेर्ने’ अभियानले कांग्रेस र नेकपाको मतदाता घटाएर आफ्नो तिर पल्ला भारी हुने रास्वपाको तर्क छ ।

गोरखा–१ मा कांग्रेसका प्रेमकुमार खत्री, एमालेका आरसी लामिछाने, नेकपाका हरिराज अधिकारी र रास्वपाका सुधन गुरुङ बीचको भिडन्तलाई रोचक रूपमा हेरिएको छ ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएका ४१ बर्षीय कांग्रेसका उम्मेदवार खत्री दशकौँदेखि समाजसेवा गरेकाले आफूले लोकप्रिय मत पाउने विश्वास गर्छन् ।

अघिल्लो चुनावमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरी कांग्रेसका राजेन्द्र बजगाईँ विजयी भएका थिए ।

नेकपाका अधिकारी यसअघि पनि सांसद हुँदा सो भेगमा गरेको योगदानको चर्चा गर्छन् । पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको प्रमुखसम्म रहेकाले संसदमा आफ्नो उपस्थिति गहकिलो रहने र थप विकास निर्माणमा जोड दिने उनको प्रतिवद्धता छ । यसअघि २०७४ को निर्वाचनमा अधिकारी विजयी भएका थिए । उनी विरासत जोगिनेमा विश्वस्त छन् ।

त्यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा निर्णायक भूमिकामा रहेको भन्दै रास्वपाबाट उम्मेदवार बनेका सुधन गुरुङ पनि चुनाव जित्नेमा विश्वस्त छन् ।

देशमा नयाँको माहोल बनिरहेकाले र जेनजी आन्दोलनपछिको माहोल आफूले नेतृत्व गरेकाले आफूलाई मतदाताले पूर्ण विश्वासका साथ मतदान गर्ने उनको जिकिर छ ।

गुरुङ मैदानमा आएपछि परम्परागत दलहरूलाई मनमा चिसो त पसेको छ नै, तर उनीहरू उनलाई प्रतिस्पर्धी नै ठान्न तयार छैनन् ।

पञ्चायतपछि भएका तीन वटै चुनावमा कांग्रेसका चिरञ्जीवी वाग्लेले जिते । २०६४ मा सम्पन्न संविधान सभा निर्वाचनदेखि कांग्रेसको विजय यात्रामा ब्रेक लाग्यो । त्यसबेला तत्कालीन माओवादीकी पार्वती थापा अत्यधिक मतसहित निर्वाचित भइन् ।
२०७० मा डा. बाबुराम भट्टराईले यही क्षेत्र रोजे र जिते । यद्यपि माओवादीको मत केही खस्कियो ।

विगतलाई हेर्ने हो भने यो क्षेत्र कांग्रेस र कम्युनिस्टहरूको परम्परागत गढ हो । तर, भदौ २३ र २४ को जेनजी आन्दोलनले जन्माएको नयाँ राजनीतिक तरङ्गले यस पटक गोरखाको ‘ग्राउण्ड ब्याटल’ अनिश्चित र रोचक बनेको छ ।

लामो समय विद्यार्थी राजनीतिबाट पहिलोपल्ट संसदीय चुनावको अभ्यास गर्न मैदानमा आएका एमालेका लामिछाने भने कांग्रेस, नेकपा, रास्वपाको मत तानातान भइरहेका बेला आफ्नो पल्ला भारी हुने दाबी गर्छ ।