गोर्खा आर्मीलाई खुकुरी रमको भव्य सम्मान, छात्रवृत्तिको समेत घोषणा


काठमाण्डु- खुकुरी रमको उत्पादक कम्पनी दि नेपाल डिस्टीलरिजले १२० जनाभन्दा बढी पूर्व गोर्खा सैनिकहरूलाई सम्मान गरेको छ । पोखरामा बिहीवार साँझ एक भव्य समारोहको आयोजना गरी नेपाली र वीरताको पर्यायको रुपमा स्थापित सेवानिवृत गोर्खा सैनिकहरुलाई सम्मान गरेको हो । भारतीय सेना, ब्रिटिस सेना, सिंगापुर आर्मीलगायतमा काम गरी सेवानिवृत्तहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

सो क्रममा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका इण्डियन आर्मीका रिटायर्ड सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथलगायतका प्रतिष्ठित मेडलबाट सम्मानित ब्रिटिस आर्मीको मेजर पदबाट सेवानिवृत दिलबहादुर गुरुङलाई विशेष सम्मान गरेको थियो ।

कम्पनीको तर्फबाट मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुङलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरेका थिए । यस्तै, कार्यक्रममा सहभागी १२० भन्दा बढी पूर्वगोरखा सैनिक र उहाँहरूका पत्नीहरूलाई समेत कम्पनीले ‘टोकन अफ लभ’ले सम्मान गरेको थियो ।

कार्यक्रममा गोर्खा सैनिकहरुले नेपाल र नेपालीको नाम विश्वमा चम्काएका विषयमा वक्ताहरूले चर्चा गरेका थिए । गोर्खा सैनिकको वीरता र त्यसको प्रतिकको रूपमा रहेको खुकुरी र सोही नामबाट सर्वश्रेष्ठ रम उत्पादन गर्दै आएको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको उनीहरूले बताएका थिए ।

कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाइँको मैदानमा वीरता प्राप्त गर्ने गोर्खा सैनिकका २ जना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्तिको समेत घोषणा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेको गण्डकी प्रदेशका नेपाली सेनाका प्रमुख मेजर जनरल दिपककुमार बानियाँले खुकुरी रमले थालेको नौलो र महत्वपूर्ण प्रयासका लागि धन्यवाद दिएका थिए । उनले आफूले समेत विदेशका साथी तथा आफन्तलाई नेपालको उपहारको रुपमा खुकुरीको कोरोनेसन ब्राण्ड लैजाने गरेको उदाहरण दिँदै गोर्खा सैनिकहरूप्रति कम्पनीले देखाएको सदाशयताको प्रशंसा गरेका थिए । सो क्रममा उनले आफूहरु पूर्व सैनिकहरूसँग सहकार्य गर्न तयार रहेको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement