गोरखा सैनिकको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन सरकारसँग माग


काठमाडौं– गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन माग गरेको छ।

गाेरखा सैनिकमाथि  विभेद र सुविधा असमान भएको भन्दै गेसाेले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन माग गरेकाे हाे।

सेवा निवृत्त भूपू गोरखा सैनिकको निवृत्तिभरण (पेन्सन) लगायतका मागका सम्बन्धमा सन् २०१७ मार्च २० मा बेलायती सेनाबाट सेवा निवृत्त गोरखा सैनिकको समस्या अध्ययन गर्न प्राविधिक समिति गठन गर्न बेलायत सरकार सहमत भएको थियो ।

बेलायत सरकारका तर्फबाट बेलायती रक्षाराज्यमन्त्री मार्क लाङकास्टर, नेपाल सरकारका प्रतिनिधि (नेपाली दूतावासका उपनियोग प्रमुख) शरदराज आरण र गोरखा सैनिक प्रतिनिधिबीच समस्या समाधान गर्ने सहमति भएको थियो ।

अध्ययन समितिले तयार गरेको प्रतिवेदन सन् २०१८ मार्च २२ गते नेपाल र बेलायत सरकारलाई बुझाएको थियो । दुवै सरकारलाई प्रतिवेदन बुझाएको ६ महिना बितिसक्दा पनि दुवै देशले वार्ता समिति गठन नगरेको हुँदा नेपाल सरकारले तत्काल वार्ता समिति गठन गरी कूटनीतिक पहल गर्न माग गरेको हो ।

गेसोका अध्यक्ष कृष्णकुमार राईले एक महिनाभित्रनै वार्ता समिति बनाएर माग सम्बोधन गर्ने प्रतिबद्धताअनुसार निकै बिलम्व भएको हुनाले नेपाल सरकारले एकतर्फी वार्ता समिति बनाएर भए पनि नैतिक दबाब दिन कूटनीतिक पहल गर्नुपर्ने माग गरे ।

 गेसोका अहिलेको आन्दोलन भएको सन् १९९७ भन्दा अघिका गोरखा सैनिकका लागि हो । सन् १९९७ पछिका सबै गोरखा सैनिकलाई बेलायती सैनिकसरह सुविधा बेलायत सरकारले दिएको छ ।

बेलायतमा गोरखा सैनिक करिब २० हजार छन् । त्यसमध्ये ६ हजार सैनिकको समस्या समाधानका लागि भएको सहमति कार्यान्वयनका लागि गेसोले माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement