गोरखा दरबारबाट फूलपाती हनुमान ढोकामा भित्र्याइँदै

गोरखा दरबारबाट फूलपाती हनुमान ढोकामा भित्र्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा दरबारको दसैं घरबाट बाजागाजासहित फूलपातीको डोली काँधमा बोकेर काठमाडौंमा पठाइएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन बिकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा मंगलबार विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो ।

दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको चौताराबाट  काठमाडौं लगिएको हो । ‘हिजो राति नजिकैको जंगलबाट बिशेष किसिमका फूलपाती ल्याएर मन्दिरमा राखेका थियौं’ दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले भने, ‘त्यही फुलपाती डोलीमा राखेर हनुमानढोका पठाएका हौं ।’

गोरखाबाट बिहान लगिएको फूलपाति साँझ हनुमानढोकामा भित्र्याएपछि विधिवत रूपमा दसैँ सुरू हुन्छ। ‘जुन बेला गोरखाबाट राजधानी काठमाडौं लगियो, त्यही बेलादेखि वर्षेनी गोरखाबाट फूलपाती हनुमानढोका पठाइन्छ’, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने।

गोरखा दरबारको दसैं घरबाट बाजागाजासहित फूलपातीको डोली काँधमा बोकेर दरबारका सुसारे सतिपिपल चौतारा आइपुगे। सबैले फूलपाती पर्सिए। गोरखाका राजा पृथ्वीनारायण शाहले दुई सय वर्ष अघि छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी सिंगो नेपाल राज्य बनाएपछि गोरखा दरबारको दसैँ घरबाट हनुमानढोकामा फूलपाती लैजान सुरू गरेको इतिहास छ।