गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गोरु तस्करी प्रकरणमा हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका इन्चार्ज फुयाँल, प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाएको हो ।

तस्करीलाई सहयोग गरेको आरोप लागेपछि छानबिनको लागि उनीहरूलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।

उनिहरुलाई जिम्मेवारीबाट हटाएर जिल्लामा तानिएको छ ।

आइतबार राति चितवनबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको बा प्र ३–००१ ख १४२४ नम्बरको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरको पहलमा बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो।

आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए तर हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भइपछि कार्यालयको टोलीले पिछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको थियो ।

छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए। ती गोरुका लागि लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा–१६, को नाममा बिल जारी गरिएको पाइएको छ भने प्रतिगोरु ५ हजार रुपैयाँको बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको छ।

यता भेटेरीनरी प्रमाणपत्रमा आबुँखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा. टीकाराम न्यौपानेको हस्ताक्षर छ।