सरकारले आज महत्त्वपूर्ण निर्णय लिँदै, भ्रष्टाचारी नेतादेखि प्रदेशसम्मलाई धक्का लाग्न सक्ने

सरकारले आज महत्त्वपूर्ण निर्णय लिँदै, भ्रष्टाचारी नेतादेखि प्रदेशसम्मलाई धक्का लाग्न सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आज महत्त्वपूर्ण निर्णय लिने तयारी गरेको छ ।

काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका मागबारे स्मरण गराएका थिए । जसअनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै महत्त्वपूर्ण घोषणा गर्नेबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री कार्कीको सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बस्दैछ, त्यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ ।

बिहीबार सरकारले प्रदेशसभा खारेज गर्ने विषयमा छलफल भइरहेको उच्च स्रोतले जनाएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङलाई बर्खास्त गर्ने, जेनजी आन्दोलन दमन गर्ने र भ्रष्टाचारमा संलग्न नेताहरूको विदेश भ्रमणमा प्रतिबन्धदेखि बैंक खाता रोक्कासम्मको निर्णय गर्नेबारे छलफल भइरहेको छ ।

संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र छानबिन गर्नेमा शंका गर्दै सरकारले भ्रष्टाचारको छानबिन गर्न छुट्टै स्वतन्त्र निकाय गठन गर्ने तयारी समेत गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यसबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिसकेकी छन् । मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गर्ने जनाइएको छ । यसअघि प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको घोषणा गरिएको छ ।