बाहिर नयाँ सत्ता समिकरणको खेल, भित्र–भित्रै निर्वाचनको तयारी

बाहिर नयाँ सत्ता समिकरणको खेल, भित्र–भित्रै निर्वाचनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार परिवर्तनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी जसपाको आधिकारिक निर्णय नआउँदा नयाँ सरकार गठन प्रक्रिया नै अन्यौलमा परेको छ । नयाँ सरकार गठनको तयारीमा जुटेको कांग्रेस जसपा र माओवादी केन्द्रबाट आधिकारिक निर्णय आउने पखाईमा छ ।

गत शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई साथमा लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्तावमार्फत हटाउने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । तर, सरकार परिवर्तनमा निर्णायक बनेको जसपा यतिबेला अनिर्णित बन्दा कांग्रेसको तयारी फितलो हुने देखिएको छ । कांग्रेसले पनि फेस सेभिंगको लागी मात्र उक्त निर्णय गरेको कांग्रेसकै नेताहरु बताउंछन् ।

‘कांग्रेसले प्रतिपक्ष दलको भुमिका निर्वाह गरेन, प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवा मिलेको छन् भन्ने आरोप लागिरहेको थियो । हामीले सरकार बनाउने निर्णय गरेका छौं,अव बांकी कुरा माओवादी र जसपाले गर्नुपर्यो । ’ कांग्रेसका एक नेताले भने ।

जसपाले आफ्ना माग पूरा गर्ने दलहरुसँग मात्रै सहकार्य गर्ने बताउँदै आएको छ । जसपाले सांसद रेशम चौधरीको रिहाई, मधेस र थरुहट आन्दोलनमा लागेका नेता कार्यकर्तामाथिको झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन गर्नुपर्ने माग अघि सारेको छ ।

जसपा नेता मोहम्मद इस्तिहाक राईले आफ्ना माग पूरा गर्ने दलसँग सत्ता सहकार्य हुने स्पष्ट पारे । काठमाण्डुपाटीसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका राईले सरकारसँग वार्ता जारी रहेको साथै कांग्रेस र माओवादी केन्द्रसँग पनि छलफल गरेर अन्तिम निष्कर्षमा पुग्ने जानकारी दिए ।

‘जसपाको निर्णय क्लियर छ । सबै पक्षसँग गहन रुपमा छलफल वार्ता र सम्वाद गर्ने, हाम्रो मुद्दाप्रति ठोस आधारसहित प्रस्तुत भएका दलसँग सहकार्य हुन्छ । केन्द्रीय कमिटीको बैठकले कुन पार्टीसँग सहकार्य गर्ने भन्ने अन्तिम टुंगो लगाउंछ । अहिलेसम्म मैदानमा एउटा पार्टीमात्र खेलाडी थियो । अब अर्को पनि आइसकेको छ । उनीहरु (कांग्रेस र माओवादी केन्द्र)सँग पनि वार्ता हुन्छ’, उनले भने ।

जसपामा दुई धार !

सरकारमा जाने विषयमा जनता समाजवादी पार्टीभित्र दुई धार देखा परेको छ । महन्थ ठाकुर–राजेन्द्र महतो समूहले केपी ओली नेतृत्वको सरकारसँग वार्ता गरेर यही सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ भने उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले कांग्रेससँग मिलेर नयाँ सरकार गठनमा सहभागी हुनुपर्ने बताउँदै आएको छ । जसपाभित्रको पुरानो संघीय समाजवादी पार्टीभित्र मुद्दाको सम्बोधन जसले गर्छ त्यहीसंग मिलेर सरकारमा जानुपर्छ भन्ने समुह बलियो छ । त्यसको नेतृत्व पुर्वमन्त्री इस्तियाक राईले गरेका छन् । जसमा प्रदिप यादव र रेणु यादवहरुको पनि साथ रहेको बुझिएको छ ।

नेता उपेन्द्र यादवले यो समुहलाई आफु नयां बन्ने सरकारमा नजाने आश्वासन दिएको भएपनि उनिहरुले यादवमाथी भने पूर्ण रुपमा भरोसा गरेका छैनन् । किनभने यादवले प्रधानमन्त्री ओलीले पदबाट हटाउंदा तुष उनले बोकेको बुझेका छन् । संसदिय दलमा उपेन्द्र नै अल्पमतमा छन् । उनलाई ओली नेतृत्वको सरकारमा जान नै दबाव छ । नभएको उनको पार्टी विभाजन हुन सक्ने चेतावनी नेताहरुले दिइसकेका छन् । यादव भने पार्टीमा आफु एक्लै बस्न तयार रहेको तर ओली सरकारलाई समर्थन नगर्ने अडानमा छन् ।

‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस\कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’, केही दिन अगाडि जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीटमार्फत स्पष्ट पारेका छन् ।

जसपा नेता राईले व्यक्तिपिच्छेका धारणामा जसपा नलाग्ने भन्दै आफुहरुका मागबारे गम्भीर हुने दलसँग सहकार्य हुने बताए । सरकारका विषयमा केन्द्रीय समितिको बैठकले अन्तिम निर्णय गर्ने भएकाले व्यक्तिगत धारणामा अल्झिन नहुने उनको भनाई छ ।

‘व्यक्तिपिच्छेको धारणा के हो त्यो हामी हेर्दैनौं । भोली हाम्रा मुद्दामा को नजिक भएर काम गर्न सक्छ । उपयुक्त आधारसहित प्रस्तुत भएको दलसँग केन्द्रीय समितिले निर्णय गरि अगाडि बढ्छ’, नेता भट्टराईले भने ।

सरकार र जसपा सहमति नजिक

नयाँ सरकार गठन गर्ने खेल भइरहेका बेला सरकार र जसपाबीचको वार्ता सहमति नजिक पुग्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेपछि जसपाले यही (केपी ओली नेतृत्वको) सरकारसँग सहकार्य गर्ने सम्भावना बनेको जसपा स्रोतले जानकारी दियो ।

सरकारले जसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिसकेको छ । उक्त कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र उपनेता सुवास चन्द्र नेम्वाङ रहेका छन् । यता जसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण रहेका छन् । शुक्ल र कर्ण दुवै अध्यक्ष महन्थ ठाकुरनिकट नेता हुन् ।

जसपा कार्यदल सदस्य कर्णले सहमतिका लागि दुई पक्षबीच वार्ता जारी रहेको बताए । ‘हामी सहमतिमा पुग्न वार्ता गरिरहेका छौं,’ कर्णले भने ।

पछिल्लो समयमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच बाक्लो भेटघाट भइरहेको छ । प्रधानमन्त्रीको आश्वासनप्रति जसपा अध्यक्ष ठाकुर सकारात्मक रहेको जसपा स्रोतले जानकारी दियो ।

जसपा विना सरकार असम्भव
कांग्रेस,माओवादी र जसपाको सत्ता गठवन्धन हुने चर्चा चलिरहेका बेला माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भित्रि रुपमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा कुनै पनि हालतमा निर्वाचनमा जानुपर्नेमा सहमत भएको बताइन्छ । त्यसैले प्रधानमन्त्री ओली सके बहुमतको सरकार बनाएर दुई वर्ष टिक्ने नभए जसरी पनि चुनावमा जाने रणनीतिमा रहेको निकट स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीसंग अहिले प्रतिनिधि सभाका कुल २ सय ७५ सदस्यमध्ये १२१ जना सांसद छन् । एमालेभित्र आफ्नो दलको सरकारलाई भने माधव नेपाल पक्ष पनि ढाल्ने पक्षमा देखिएको छैन । प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा सरकार बन्न एक सय ३८ सदस्य आवश्यक पर्छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने सम्भावना नभएको अवस्थामा सत्ता गठवन्धनका लागी निर्णायक जसपा छ । तर, जसपामा पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने बारेमा दुई वटा लाईन छन् । हाल ३२ सिट रहेको जसपाभित्रबाट प्रधानमन्त्री ओलीलाई सरकार बनाउंन १६ जना सांसद अपुग हुन्छ ।

प्रधानमन्त्री ओलीले सिंगो जसपालाई सरकारमा ल्याउन पहल गरिरहेका छन् । त्यसका लागी उनले व्यक्तिगत रुपमा जसपा सांसदहरुलाई पनि एक्ला एक्लै भेटिरहेका छन् । प्रधानमन्त्री ओलीले यदी जसपामा सर्वसम्मत निर्णय भएन भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका केही सांसदहरुसंग सहमती गरेर सरकार बनाउने तयारीमा छन् । त्यसका लागी मधेषका मुद्दा र महत्वपूर्ण मन्त्रालय दिएर भएपनि सरकारलाई जोगाइराख्ने उनको रणनिति छ । जसपाको साथ नपाएको अवस्थामा कांग्रेस र माओवादीको सरकार बन्ने अवस्था पनि छैन् ।

आफ्नो सरकार टिकाउने प्रधानमन्त्री ओलीका यस्ता प्रयत्न असफल भए सत्ताको नेतृत्व कांग्रेसमा पुग्ने देखिन्छ। तर, कांग्रेस नेतृत्वको सम्भावित सरकार पनि जसपाको सहयोग बेगर सम्भव देखिन्न। तत्काल कांग्रेसको सरकार बनाउन एमालेले सहयोग गर्न सक्ने सम्भावना छैन। अनि, कांग्रेस र माओवादीका सांसदले मात्रै सरकार बनाउन नसक्ने भएकाले जसपाको साथ अनिवार्य देखिन्छ ।

प्रधानमन्त्री ओली माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिने तयारी छन् । तर ओलीले राजीनामा दिएपनि अर्को सरकार बन्ने सम्भावना भने कम छ । किनभने जसपा एमालेसंगभन्दा बढी नकरात्मक माओवादी केन्द्र र कांग्रेससंग छ । हिजो सरकारमा हुंदा आफुहरुका माग दुवै पार्टीले पुरा नगरेको गुनासो उनिहरुको छ ।

जसपा नेता ठाकुरले अहिले अफ्ठेरो पर्दा मात्र कांग्रेस र माओवादीलाई जसपाको साथ चाहिएको भन्दै हिजो सत्तामा हुंदा दुवै पार्टी आफुहरुका माग पुरा गर्न असहमत भएको आरोप लगाए । ‘उहांहरुले अहिले प्रधानमन्त्रीको नैतिकता खोज्नुहुन्छ तर पहिला आफ्नो नैतिकता हेर्नुपर्छ, आफ्नै पार्टीको सरकार ढाल्ने अनि नैतिकताका कुरा गर्न मिल्दैन ।’ ठाकुरले भने ।

नेता ठाकुरले अविश्वासको प्रस्तावको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेस र माओवादीमै कुरा नमिलेको बताए । उनले अहिले प्रधानमन्त्री ओली सत्तामा भएकाले उहां माग पुरा गर्न सक्ने अवस्थामा रहेकाले त्यसैले उनीसंग वार्ता जारी रहेको बताए ।

जसपा अध्यक्ष ठाकुरले विश्वासको मत आफ्नो पक्षमा आएन भने प्रधानमन्त्रीले ताजा जनादेशमा जाने बताएको दावी समेत गरे ।

जसपा मात्र होइन प्रधानमन्त्री ओलीसहित विपक्षी दलका नेता देउवा समेत चुनावमा जान सहमत देखिएका छन् । उनिहरुको बीचमा त्यसैको लागी गहन छलफल समेत चलिरहेको स्रोतको दावी छ । तर चुनावी सरकारको नेतृत्व कसले गर्ने, चुनाव मंसिरमा वा माघमा कहिलेगर्ने लगायतका विषयमा भने सहमति नजुटेको स्रोत बताउंछ ।