वैदेशिक रोजगारी खुल्ला गर्ने सरकारको निर्णय

वैदेशिक रोजगारी खुल्ला गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले वैदेशिक रोजगारी खुल्ला गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगारी बन्द गरेको सरकारले पुनः खोल्ने निर्णय गरेको हो ।

शुक्रबार कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्रको बैठकले नयाँ रोजगारीमा जान चाहने नेपालीलाई जाने अनुमित दिने निर्णय गरेको हो ।

त्यस्तै सिसिएमसीले वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

यस्ता छन् सीसीएमसीका निर्णयः

-क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने,
-संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने,
-रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,
-स्वास्थ्य सामग्रीको थप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने,
-कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी र परिवारका सदस्यलाई आवश्यकता हेरेर जान र आउन छुट दिने,
-वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकका हकमा श्रम मन्त्रालय र पढ्न जाने विद्यार्थीका हकमा शिक्षा मन्त्रालयलाई आवश्यकता हेरेर निर्णय गर्ने जिम्मेवारी,
-कोरोना रोकथामाका लागि ३५ करोड रुपैयाँ प्रदेश मार्फत् पालिकालाई दिन निकासा,
-कोरोना संक्रमण फैलिएको अवस्था हेरेर पालिकालाई पूर्ण सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिने । त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने,
-क्वारेन्टाइनको खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिनेलगायत निर्णय सीसीएमसी केन्द्रले गरेको हो ।

केन्द्रले कोरोना संकटमा २४ घण्टा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सञ्चार मध्यम र सबै निकायलाई आह्वानसमेत गरेको छ ।