काठमाण्डु – सरकारले उखु किसानलार्य भुक्तानी उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले नै असन्तुष्टी जनाएका छन् ।
उखुको भुक्तानी पाउनुपर्ने माग राख्दै माइतीघरमा आन्दोलनरत किसानहरुको भुक्तानी दिन नसकेको भन्दै नेकपा नेता भीम रावल र जानर्दन शर्माले असन्तुष्टी जनाएका हुन् ।
स्थायी कमिटी सदस्यसमेत रहेका रावलले श्रमजीवी जनताको हित संरक्षक नेकपाको नेतृत्वमा सरकार भएको देशमा किसानहरूले पीडित भई क्रन्दन गर्नुपर्ने स्थिति विडम्बनापूर्ण रहेको बताएका छन् ।
‘लामो समयदेखि उखु उत्पादक किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको रकम मागिरहेका छन्’, उनले भनेका छन्, समाजवाद उन्मुख प्रणालीको संवैधानिक व्यवस्था र श्रमजीवी जनताको हित संरक्षक नेकपाको नेतृत्वमा सरकार भएको देशमा किसानहरूले पीडित भई क्रन्दन गर्नुपर्ने स्थिति विडम्बनापूर्ण छ । किसानको माग पूरा गरियोस् ।’
नेता शर्माले सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम राम्रो नभएको भन्दै उखुको भुक्तानी दिन सरकारसँग माग गरेका छन् ।
‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन’, उनले भनेका छन्, ‘तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु । किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ ।’




प्रतिक्रिया