सरकारी प्रतिनिधिले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारी प्रतिनिधिले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै


काठमाण्डु – सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारी टोलीले तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।

बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गर्ने, १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गर्ने तालिका रहेको छ ।

उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीव्रता दिएर दलहरूकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गरे।

सरकारी टोलीले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो ।