समाजवादी पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

समाजवादी पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं – समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ । समाजवादीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ । समाजवादीले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्ने तयारी गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसलगत्तै मंगलबार उपप्रम यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । समाजवादीसँग संघीय संसदमा १७ सांसद रहेका छन् ।