काठमाण्डु – सरकारले नयाँ बजेट नआउञ्जेल व्ययभार बाहेक आर्थिक खर्च नगर्न देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयको निर्देशानुसार महालेखा नियन्त्रक कार्यालयले सञ्चित कोषमाथि व्ययभार हुनेबाहेक खर्च नगर्न जिल्लास्थित कोष तथा लेखा नियन्त्रकहरूलाई आन्तरिक परिपत्र गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।
महालेखाले जारी गरेको आन्तरिक परिपत्रमा ‘आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयक स्वीकृत भइनसकेको तथा आर्थिक वर्ष २०७८÷७९ को विनियोजन अध्यादेश पनि २०७८ भाद्र ३० गते राति १२ बजेपछि निष्क्रिय भइसकेकाले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च गर्न नमिल्ने’ जनाइएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात ६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति १२ बजेदेखि बजेट शून्यतामा गएको छ ।
बजेट शून्यतामा गएपछि संघ सरकारको सरकारी ढुकुटीबाट हुने खर्च ठप्प भएको छ । प्रशासनिकदेखि सरकारी कार्यालयको नियमित निकासा रोकिएको छ । यद्यपि संघीय सञ्चित कोषबाट व्ययभार भने कायमै हुनेछ । प्रतिस्थापन विधेयक संसदबाट पारित र राष्ट्रपतिबाट अनुमोदन नभएसम्म सरकारले सञ्चित कोषबाट खर्च गर्न पाउनेछैन ।




प्रतिक्रिया