काठमाण्डु- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा शिक्षा मन्त्रालयमा शनिबार बसेको वार्तामा कुनै सहमति नभएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ता बिनानिस्कर्ष टुंगिएको जनाए ।
नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो ।
तर छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको अध्यक्ष सुवेदीले बताए । उनले भने, ‘छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिका लागि फेरि बसेर संवादलाई निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’
वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, ‘हामीले पेस गरेका माग र मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकास आउने छ ।’
वार्तामा महासंघले आफना मागहरू मन्त्री पन्त समक्ष राखेका थिए । जवाफमा मन्त्री पन्तले शिक्षकहरूले उठाएको माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दो कोशिस गर्ने बताए । अध्यक्ष सुवेदाले सरकारसँग वार्ता सुरु भएपनि शिक्षकहरूको आन्दोलन जारी रहने बताए।
तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाण्डुमा २५ दिनदेखि आन्दोलनरत छन्।




प्रतिक्रिया