काठमाण्डु- यदि कुनै ट्वीस्ट आएन भने देशले लामो समयको प्रतीक्षा पछि सोमबार नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाउने भएकोछ ।
गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्ने तय भएको हो ।
मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने यकिन भएको छैन । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहको एम मन्त्रीले जानकारी दिए ।
प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी लगभग सबै तयारी पूरा भएका छन् ।
यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।
मन्त्रिपरिष्द् बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । त्यही बैठकबाट पौडेलसहित ३ जनाको नाम सिफारिस हुनेछ भने साँझको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्तिको निर्णय गर्नेछ ।
पौडेललाई गभर्नरमा नियुक्ति गरिएपछि अदालतमा मुद्दा पर्ने भयका कारण मंगलबार बिहानै पदबहाली तथा सपथको तयारी समेत गरिएको छ । भरसक अदालतमा कुनै मुद्दा दर्ता हुनुअघि वा यसअघि दर्ता भएको मुद्दाको प्रक्रिया चल्नुअघि नै सपथ गराएर पदबहाली गराउनेसम्मको योजना रहेको छ ।
पछिल्लो समय डा. विश्व पौडेलमाथि गभर्नर बन्न कानूनी मात्र होइन, नैतिक उल्झन समेत देखिएको छ । पहिला आफैं गभर्नर सिफारिस समितिको सदस्यमा बसेका व्यक्ति आफैं नियुक्ति खान अगाडि बढेपछि उनको नैतिकतामा पनि प्रश्न उठेको छ ।
राष्ट्र बैंक ऐनको दफा २१मा गभर्नरमा नियुक्त हुने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ । तर पौडेल गत निर्वाचनमा चितवन–१ बाट संघीय सांसदको निर्वाचन लडेका थिए ।




प्रतिक्रिया