धनगढी– अनसनरत डा. गोविन्द केसीको मागअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई जिम्मेवारीबाट हटाउने विषयमा सरकारी वार्ता टोलीले असमर्थता जनाएको छ ।
सरकारी वार्ताटोली र केसीका प्रतिनिधिबीच सेती प्रादेशिक अस्पतालमा जारी वार्तामा दुई पक्षबीच पदाधिकारी हटाउने विषयमा कुरा नमिलेको हो ।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी छन् ।
वार्तामा डा. केसीका तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा छन् ।
डा. केसीका प्रतिनिधिले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई जिम्मेवारी मुक्त गगरिनुपर्ने अडान राखेका छन् ।
यद्यपि सरकारी टोलीले जोशी र चन्दलाई हटाउन नसकिने जवाफ दिएको छ । केसीका अन्य माग सम्बोधनमा भने सरकार लचक देखिएको छ ।
वार्ताअघि सरकारी वार्ता टोली सदस्यहरुले सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार गराइरहेका केसीसँग भेटेको थियो ।
डा. केसीले बिहीबारदेखि अनसन थालेका थिए । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको परामर्शमा उनलाई अस्पताल लगिएको थियो ।




प्रतिक्रिया