काठमाण्डु : तपाईँ भान्सामा खाना तयार गर्दै हुनुहुन्छ र आलु खोज्न जाँदा टुसा उम्रेको मात्र पाउनु भयो भने के त्यो खानु ठिक हुन्छ? वा त्यसलाई फ्याँक्नुपर्छ?
यो एक सामान्य दुबिधा भए पनि के गर्ने भन्ने बारेमा मिश्रित धारणा पाइन्छ । जब आलु, प्याज र लसुनजस्ता टुसाउन थालेका तरकारीहरूको कुरा आउँछ, तिनलाई के गर्ने भन्ने सीधा जबाफ पाइन्न ।
आलु टुसाउँदा के हुन्छ ?
आलु टुसाउँदा धेरै मात्रामा ग्लाइकोअल्कलोइड्स भन्ने यौगिक उत्पादन हुन थाल्छ । यो प्राकृतिक विष हो तर त्यसले बिरुवालाई ढुसी र किराबाट बचाउँछ ।
तीमध्ये एकलाई सोलनिन भनिन्छ र त्यो आलु, गोलभेडा, भ्यान्टा र खुर्सानीमा पाइन्छ । यो यौगिक उच्च तहमा भएको खानेकुरा मानिस र जनावरका लागि खतरापूर्ण हुन सक्छ । ‘टुसाएको आलुको सबैभन्दा ठूलो खतरा भनेको यसमा उत्पादन हुने
ग्लाइकोअल्कलोइड हो, जसका कारण आलुको स्वाद धेरै तीतो बन्न जान्छ र धेरैजसो यसले अन्य गम्भीर कुराभन्दा पनि सधैँजसो बान्ता गराउँछ’, अमेरिकाको लिंकन विश्वविद्यालयमा पोस्टहार्भेस्ट टेक्नोलोजीका रिडर तथा पोटेटो पोस्टहार्भेस्टका लेखक डा. क्रिस बिशप भन्छन् ।
‘आलु हरियो रंगको भयो भने यसमा प्राकृतिक रसायन रहेको सामान्यतः प्रष्ट हुन्छ । त्यसैले हामीले हरियो आलु खानु हुँदैन,’ डा. बिशपको भनाइ छ ।
आलुको अंकुरमा पनि यी रसायनहरू पाइन्छ । त्यसैले त्यसलाई पूर्ण रूपमा हटाउनु पर्छ ।
अंकुर हटाएपछि यदि आलु अझै गलेको छैन, कुहिने कुनै संकेत छैन भने त्यसलाई सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ । तर यदि आलुमा हरियो रंग विकास भएको छ भने यसलाई नखाँदा नै राम्रो हुन्छ । हरियो भागहरूले विषाक्त पदार्थहरू रहेको संकेत गर्छ ।
समात्दा दह्रो भए र निकै चाउरी परेको वा सुकेको छैन र अंकुर साना छन् भने टुसाएको आलु सामान्यतः खान सुरक्षित हुन्छ । यद्यपि धेरै नरम, चाउरी परेको वा सुकेको छ भने त्यस्तो आलुले पोषक तत्त्वहरू गुमाएको हुन सक्छ र त्यो धेरै स्वादिष्ट हुँदैन ।
हरियो नहुने आलुमा सोलनिनको तह कम हुन्छ । तर सोलनिन ‘पोइजनिङ’को खतराको कारणले काँचो आलु खानु हुँदैन । यो तुलनात्मक रूपमा दुर्लभ छ तर पनि सोलनिन ‘पोइजनिङ’ पनि हुने गरेको पाइन्छ ।
१९७० को दशकको अन्त्यतिर ब्रिटेनमा एउटा घटना भएको थियो । त्यसबेला ७८ जना स्कुले विद्यार्थीहरूलाई हरियो आलु खाएपछि अस्पतालमा भर्ना गर्नु परेको थियो ।
निकै गम्भीर अवस्थामा सोलनिन ‘पोइजनिङ’ले निद्रा लाग्ने, उदास बनाउने, भ्रमित पार्ने, कमजोरी र दृष्टिमा गडबडी निम्त्याउन सक्छ । त्यसपछि बेहोस हुने र कतिपय अवस्थामा मृत्यु भएका पनि विवरण छन् ।




प्रतिक्रिया