काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आर्थिक वर्ष २०७५\०७६मा गृहमन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताउनुभएको छ ।
आज मन्त्रालयमा आ.व.२०७५\०७६को वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘ गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभुत रुपमा सफल भएका छौं, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ । ’
सरकारले लिएको दिगो विकासको लक्ष्य, , १५औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका कामकारवाही र योजना बनाउन उहाँले गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभुति अनिवार्य शर्त रहेको भन्दै सोहि अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनमा गत आ.व.२०७५\०७६मा गृहका कामकारवाही प्रभावकारी देखिएपनि अझै असार मसान्तमा काम सक्ने परिपाटीको अन्त्य नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ जेठ १५मा बजेट आउँदापनि असारमसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझै देखियो । अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम सुरु गरीसक्ने गरी योजना बनाउनुहोला । ’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए । –––




प्रतिक्रिया