काठमाण्डु– गृहमन्त्री रमेश लेखकले राजधानीमा सुरक्षाको अनुभूति नागरिकले प्रत्यक्ष पाउने गरी प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने निर्देशन दिएका छन्।
शुक्रबार काठमाण्डु उपत्यका प्रहरी कार्यालय र काठमाण्डु प्रहरी परिसरको निरीक्षणपछि मन्त्री लेखकले उपत्यकामा शान्ति–सुव्यवस्था कायम गर्न उपत्यका प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले प्रहरीको कार्य जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै मानवअधिकारको संरक्षण र संवर्द्धनमा अझ सजग रहन आग्रह गरे।
महिला हिंसा, घरेलु हिंसा, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका अपराधप्रति संवेदनशील बन्नुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराए। “सडक दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी र आर्थिक अपराध जस्ता चुनौती समाधानका लागि प्रविधिको उच्चतम प्रयोग गर्दै अझ सक्रिय बन्नुपर्नेछ,” मन्त्री लेखकले भने, “प्रहरीलाई साधन र स्रोतले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ।”
उनले गुण्डागर्दी र बिचौलियाको गतिविधि नियन्त्रण गर्न निर्देशन दिँदै प्रहरी सेवालाई सर्वसुलभ, सहज र झन्झटरहित बनाउन आग्रह गरे। “सेवाग्राहीको समस्या र गुनासो शिष्ट व्यवहारका साथ समाधान गर्नुपर्छ। शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन,” उनले भने।
यस अवसरमा प्रहरी महानिरीक्षक दीपक थापाले सीमित जनशक्ति र स्रोत साधनबीच पनि उपत्यका प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताए।




प्रतिक्रिया