काठमाण्डु– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
गृहमन्त्री अर्यालले हालसम्म बांके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचार संहिताको पालना गर्न गराउन र कानून उलंघन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए ।
गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ, तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षकहरु सहितको टोलीले बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बांके जिल्लाको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रेदेश प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अनुगमन अधिकृतहरु लगायतको उपस्थित रहेको थियो ।
पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गरे । गृहमन्त्री अर्यालले जिल्लास्थित प्रमुखहरुसँगको भेटघाटपछि उनले भने, “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ । सम्बद्ध सुरक्षा प्रमुखहरुबाट समग्र विषयवस्तुका बारेमा जानकारी प्राप्त भयो । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु । ”
उक्त कार्यक्रमपश्चात गृहमन्त्री अर्यालले बांके स्थित केहि पत्रकारहरुसँगको सक्षिप्त भेटघाटको क्रममा पत्रकारहरुको सवाललाई संबोधन गर्दै निर्वाचनको माहोल राष्ट्रिय रुपमै उत्साहजनक हिसाबले वढीरहेको र बांकेके हालसम्मको तयारीले समेत त्यसैलाई पुष्टि गर्ने बताए ।




प्रतिक्रिया