काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले पुराना दलका केहि नेताहरूले जेनजी आन्दोलनको अपमान गरेको बताएका छन् ।
मंगलबार जेन्जी शहीद स्मृति दिवसमा बोल्दै जेन्जी आन्दोलनलाई अपमान गरेर ३ करोड नेपालीको अपमान गरेको बताएका हुन् ।
उनले भने, ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’
उनले थपे, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन।
उनले आफूहरुले सत्ताको लोभमा भदौ २३ मा आन्दोलन नगरेको बताए । उनले भने भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन। ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ।’
उनले जेन्जीको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया