बालगोपालेश्वरमा लगाइयो सामूहिक भाइटीका


काठमाण्डु –  तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए । यसैबीच, काठमाण्डुको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ ।

अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिएका छन् । उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिए । अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिए । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement