एमालेका कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारबाही !

एमालेका कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारबाही !


काठमाण्डु – एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाही हुने भएको छ । पार्टीको अनुशासन आयोगले स्थलगत अध्ययनसहितको छानबिनपछि शाह र महरलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको हो ।

आयोगको टोलीले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गरेपछि दुवै जना पदमा बस्न योग्य नदेखिएको भन्दै पार्टीलाई कारबाही गर्न भनेको हो । छानबिन प्रतिवेदन तयार गरी आयोग बैठकले पास गरेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ । त्यो अनुशासन बाहिरको कार्य भएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।

पार्टीकै एक महिलाले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोग उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो । समितिमा हर्कबहादुर कुँवर र दीपकप्रसाद देवकोटा सदस्य थिए ।

केन्द्रीय सदस्य महरमाथि पनि यही समितिले छानबिन गरेको थियो ।

‘छानबिनमा देखिएको तथ्यहरु हेर्दा शाह भन्दा पनि महरको अपराध ठूलो भएको छानबिन समितिले उल्लेख गरेको छ । महरलाई यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो सार्वजनिक भएको थियो ।

त्यो अडियो सार्वजनिक भएपछि महर केन्द्रीय सदस्यबाट हटाइएका थिए । तर गत १५ वैशाखको उपचुनाव अगाडि पुनः पदबहालीको निर्णय भएको थियो ।