गुल्मीमा एमालेको वर्चस्व गठबन्धनले तोड्न सक्ला ?

गुल्मीमा एमालेको वर्चस्व गठबन्धनले तोड्न सक्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा पनि चुनावी रौनक बढेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट तथा कांग्रेस नेता चन्द्र भण्डारीको गृहजिल्ला हो गुल्मी । दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको गुल्मीमा गत चुनावमा एमालेले धेरै स्थानीय तह जितेको थियो ।

जिल्लामा दुई नगरपालिकासहित १२ वटा स्थानीय तह छन् । तीमध्ये एमालेले सातवटामा जितेको थियो । कांग्रेसले चारवटामा अध्यक्ष जित्यो भने माओवादी केन्द्रले एउटा मात्र अध्यक्ष जित्न सक्यो । जिल्लामा मुख्यतः कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा देखिन्छ । केही तहमा माओवादीको पनि प्रभाव छ । गत चुनावमा केही पालिकामा कांग्रेस र माओवादी मिलेर लडेका थिए ।

गत चुनावको परिणाम

०७४ सालमा भएको चुनावमा गुल्मीमा एमालेले वर्चस्व स्थापित गरेको थियो । कांग्रेस र माओवादीले केही स्थानीय तहमा समीकरण गरेका थिए । त्यसका बाबजुत पनि एमालेले धेरै स्थानमा जित निकाल्यो ।

रेसुंगा र मुसिकोट नगरपालिकाको मेयर–उपमेयरसहित इस्मा, मालिका, छत्रकोट, रुरु र मदानेमा एमालेले अध्यक्ष–उपाध्यक्ष नै जित्यो । यसबाहेक उसले चन्द्रकोट, कालीगण्डकी र सत्यवतीमा उपाध्यक्ष पनि जितेको थियो । कांग्रेसले गुल्मी दरबारमा मात्रै दुवै पद जित्यो । उसले कालीगण्डकी, चन्द्रकोट र र सत्यवतीमा अध्यक्ष तथा धुर्कोटमा उपाध्यक्ष जितेको थियो । माओवादीले भने धुर्कोटमा कांग्रेससँग मिलेर अध्यक्ष जित्यो । अन्यत्र भने उसले मुख्य पदमा जित्न सकेन ।

आगामी निर्वाचनमा सम्भावित समीकरण

जिल्लामा सत्ता साझेदार दलबीच तालमेलको प्रयास भइरहेको छ । तर, माओवादीभित्र आन्तरिक द्वन्द्व भएकाले कुरा मिलेको छैन । माओवादीबाट जितेका धुर्कोटका अध्यक्ष भूपाल पोखरेलले फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जिल्ला इन्चार्जसमेत रहेका बुद्धि जिसीले धुर्कोट कांग्रेसलाई दिन सहमति जनाएका छन् ।

यसले माओवादीभित्रै विवाद चुलिएको छ । अधिकांश पालिकामा कमजोर रहेको माओवादीलाई कांग्रेससँग तालमेल गर्नु बाध्यात्मक छ । कांग्रेसले पनि बलियो एमालेलाई हराउन माओवादी र एकीकृत समाजवादीलाई सँगै लिएर हिँड्न खोजेको छ । जिल्लामा तीन पालिका माओवादीलाई दिएर कांग्रेसले सहमति गर्न खोजेको छ । तर, माओवादीमै कुन पालिका लिने भन्नेमा विवाद भएकाले सहमति हुन सकिरहेको छैन । जिल्लामा एकीकृत समाजवादी कमजोर छ । उसले पालिका प्रमुखमा दाबी गरेको छैन ।

सम्भावित परिणाम

गुल्मीका धेरै स्थानीय तहमा एमाले बलियो छ । सत्ता साझेदार दलबीच तालमेल हुने लगभग निश्चित देखिन्छ । तर, अघिल्लो चुनावमा एमालेले रेसुंगा नगरपालिकासहित केही स्थानीय तहमा निकै कम मतान्तरले जित निकालेको थियो । रेसुंगाको उपमेयर मात्र सात मतले जितेको थियो । त्यसैले पार्टीमा आएको विभाजनले उसलाई केही न केही असर पर्ने देखिन्छ । अघिल्लो चुनावमा कांग्रेस र माओवादीबीच सबै पालिकामा तालमेल भएको थिएन ।

यसपटक गठबन्धन गर्ने भनेर पाँच दलले निर्णय नै गरिसकेका छन् । यस्तो अवस्थामा जिल्लामा चुनावी भिडन्त रोचक हुने अनुमान गरिएको छ । धेरै स्थानीय तह जिते पनि कार्यसम्पादनमा भने एमालेका पदाधिकारी कमजोर देखिएका छन् । बरु माओवादी अध्यक्ष भएको धुर्कोट कार्यसम्पादनमा अब्बल ठहरिएको छ । यसले पनि एमालेलाई असर पर्न सक्छ । समग्रमा गुल्मीमा अहिले पनि एमाले बलियो देखिन्छ । तर, एकीकृत समाजवादीले एमालेका कति मत काट्छ भन्नेले पनि केही पालिकामा परिणाम प्रभावित हुन सक्छ । यस्तै, उम्मेदवारको व्यक्तिगत प्रभाव र थपिएका मतदाता पनि नतिजाका लागि फ्याक्टर हुन सक्नेछन् ।

मतदाता

स्थानीय तह निर्वाचनका लागि गुल्मीमा दुई लाख २४ हजार दुई सय ७६ मतदाता छन् । तीमध्ये एक लाख १० हजार ५९ जना पुरुष र एक लाख १४ हजार दुई सय १५ जना महिला छन् । दुईजना अन्य छन् । यो संख्या अघिल्लो चुनावको भन्दा करिब ३० हजार बढी हो ।