काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावको चहलपहल बढेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलका नेताहरु गाउँ गाउँ पुग्न थालेका हुन् ।
यसैबीच गुल्मी १ मा पनि चुनावी माहोल बढेको छ । गुल्मी १ मा चुनावी माहोल बढ्नुको कारण हो एमाले उपमहासचिव प्रदिप ज्ञवाली यस क्षेत्रबाट चुनावी मैदानमा होमिएका छन् ।
यस क्षेत्रबाट उनका प्रतिस्पर्धी हुन् नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका हुन् ।
२०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकाल्न सफल भएका छन् । मंसिर ४ गते हुने संघीय निर्वाचनमा ‘ह्याट्रिक’ गर्ने रणनीति ज्ञवालीको छ । १० वर्षयता ज्ञवाली र भण्डारी गुल्मीबाट प्रतिस्पर्धा गर्दै आएका छन् ।
यता भण्डारी भने ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने दाउमा लागेका छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भए। तत्कालीन बाम-गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८१४ मत ल्याउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए ।
यस पटक डा. भण्डारीलाई सत्ता गठबन्धनको साथ छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी—१ मा दलगत रूपमा नेकपा एमालेले ३५ हजार ७०१ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत ल्याएका छन् ।
स्थानीय तहको निर्वानको नतिजालाई हेर्ने हो भने यस पटक चुनाव जित्न ज्ञावलीलाई त्यति सहज छैन् । सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई जितका लागि केही सहज देखिन्छ ।




प्रतिक्रिया