काठमाडौं– अपराध गरेपछि अपराधीहरू आफ्नो पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या गरेको पुष्टि भएको छ ।
आखिर किन उनले घटनाको जिम्मेवारी लिए ? यसको पछाडि उनीहरूको ठूलो योजना थियो । आफूहरूको नाममा आतंक फैलाउने र पैसा कमाउने । अर्थात् अन्र्डरवल्र्ड चलाएर पैसा असुल्ने । हालसम्को प्रहरी अनुसन्धानमा गौचन हत्याको प्रमुख उद्देश्य नै अन्डरवल्र्ड चलाउने देखिएको छ । अहिलेसम्म उनीहरू आफ्नो योजनामा सफल भएका छन् र डेढ महिना बित्दा पनि सो समूहलाई नियन्त्रणमा लिन प्रहरी असफल भएको छ ।
हत्याकै दिन उनीहरूले नेपालका एक दर्जन क श्रेणीका ठेकेदारलाई फोन गरी पैसा नदिए गौचनकै हालत बनाइदिने भन्दै धम्क्याएका थिए । अन्य व्यवसायीलाई समेत धम्क्याएर उनीहरूले पैसा असुल्न थालिसकेका छन् । तर, गिरोहका नाइके समीरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङलगायत कहा छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।
यो विषय प्रहरीका लागि ठूलो चुनौती बनेको छ । गौचन हत्या छानबिन समितिका संयोजक डिआइजी गणेश केसी पनि अन्डरवल्र्ड शैलीकै अपराधमा उनीहरू संलग्न भएको बताउछन् । ‘तर, उनीहरूलाई हामी छिट्टै पक्राउ गर्छौं,’ डिआइजी केसीले भने, ‘उनीहरू भारतमा रहेका र हामीले पक्राउको प्रयास गरिराखेका छौ ।’
धेरैजसो निर्माण व्यवसायीलाई धम्क्याए पनि पैसा भने उनीहरूले सुन पसलेसँग धेरै उठाएका छन् । ‘को–को सुन पसलेले तस्करीको सुनको कारोबार गर्छन् भन्ने उनीहरूले सूचना पाएका छन,’ प्रहरी स्रोत भन्छ, ‘ती सबै सुन व्यापारीहरूलाई धम्क्याएर करोडौ असुलीसकेका छन् ।’
हत्यापछि करोडौं असुली
हत्याकै दिनदेखि सो समूहले इन्टरनेट कल गरी व्यवसायीलाई धम्क्याउन थालेको थियो । र, अहिलेसम्म पनि उनीहरूले धम्क्याइरहेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई नै गोली हानी हत्या गरेपछि अन्य व्यापारीहरू सजिलै तर्सने भएकाले उनीहरूले गौचनलाई रोजेका थिए ।
अर्कोतर्फ समीरलाई गौचनको बारेमा धेरै जानकारी थियो । गौचनको समीरका साथी कुमार घैँटेसंग चिनजान थियो । प्रहरी कारबाहीमा घैँटे मारिएपछि भागेका समीरले गौचनले पाउने सबैजसो ठूला ठेक्कामा कमिसन माग्ने गरेका थिए ।
तर, गौचनले बेवास्ता गर्दै आएका थिए । ‘सो समूहले गौचनसँग पटक–पटक पैसा मागेको हाम्रो अनुसन्धानमा पुष्टि भएको छ,’ डिआइजी केसीले भने । स्रोतका अनुसार धेरैजसो ठेकेदारलाई धम्क्याए पनि पैसा भने उनीहरूले सुन पसलेसँग धेरै उठाएका छन् ।
‘कोको सुन पसलेले तस्करीको सुनको कारोबार गर्छन् भन्ने उनीहरूले सूचना पाएका छन्,’ प्रहरी स्रोत भन्छ, ‘ती सबै सुन व्यापारीहरूलाई धम्क्याएर करोडौं असुलीसकेका छन् ।’ उनीहरूले धेरै व्यापारीलाई धम्क्याएर हुन्डीमार्फत पैसा लिन सक्ने भएकाले प्रहरीले हुन्डीको कारोबार गर्ने सम्भावित व्यापारीलाई सतर्र्क गराएको थियो ।
आर्मी गणबाटै सुरु भएको अपराध यात्रा
प्रहरीले एक सुटरलाई सार्वजनिक गरे पनि मुख्य सुटर भने फरार छन् । मुख्य सुटर अम्बरबहादुर राना मगर हुन् । उनी सेनाका भगौडा सिपाही हुन् । गिरोहका अर्का फरार नाइके श्याम लामा पनि आर्मीका भगौडा हुन् ।
उनीहरूबीच नवलपरासीको एक गणमा चिनजान भएको थियो । त्यहीँबाट दोस्ती भर्ई उनीहरूले संगै जागिर छाडेर आपराधिक दुनियाँमा छिरेका थिए । डिआइजी केसीका अनुसार गौचनलाई दुईजना व्यक्तिले फरक–फरक पेस्तोलबाट गोली हानेका थिए ।
राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए । उनै रानाले गत चैतमा काभ्रेली समूहका दावा लामालाई समेत गोली हानेको प्रहरीको दाबी छ ।
प्रहरीकै आडमा बलियो बने बस्नेत
मुख्य योजनाकार बस्नेत प्रहरीको गुन्डा नाइकेको सूचीमा परेका व्यक्ति हुन् । उनी प्रहरी मुठभेडमा रहेका गुन्डा नाइके कुमार घैँटेका पार्टनर थिए । घैँटेको मृत्युपछि उनी भारतमा बसेर ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने गर्दथे । बाफल घर भएका उनी पटक–पटक पक्राउ परिसकेका छन् । तर, कांग्रेस नेता तथा प्रहरी अधिकारीकै सोर्सफोर्स लगाएर छुट्ने गरेका थिए ।
उनी लागुऔषध दुव्र्यसनी पनि हुन् । सोहीक्रममा धेरै दुव्र्यसनीहरूसंग संगत बढाएर उनले गुन्डागर्दी गरे । काठमाडौंका केही चल्तापुर्जा प्रहरी अधिकृत आफन्त भएकाले उनी छिट्टै उदाए ।
ती प्रहरी अधिकारीबाट जोगिन अन्य गुन्डाले समीरसंग दोस्ती बढाए । सोहीकारण उनको महत्वाकांक्षा बढ्दै गयो । विगतमा पक्राउ पर्दा छुटाउन जाने र मुद्दा मिलाउने उनका आफन्त प्रहरीहरू नै अहिले आजित भइसकेका छन् ।
गौचनसँग पनि उनको चिनजान रहेको प्रहरी अधिकारीहरू बताउछन् । ‘गौचनबारे उनलाई धेरै जानकारी थियो, उनको कमाइबारे पनि थाहा थियो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘उनको ठेक्कापट्टाबारे जानकारी लिएर कमिसन माग्ने गरेका थिए, तर नदिने बताएपछि हत्या गरेका हुन् ।’ बस्नेतले एक करोड रुपैयां कमिसन मागेका थिए ।
भारतमा बसेर उनी नेपालमा अन्डरवल्र्ड चलाउने प्रयासमा रहेको प्रहरी अधिकारीहरू बताउछन् । बस्नेत पछिल्लो समय भारतीय र दुबईमा रहेका माफिया समूहसंग सम्बन्ध विस्तारको प्रयासमा छन् ।
समीरले मनोजको नाक भाँचिदिए
बुटवलका दुर्गा तिवारी हत्यामा समीर र मनोज दुवै संगै थिए । तिवारीलाई गोली हान्ने व्यक्ति समीरकै विश्वासपात्र लोप्साङ लामा थिए । हत्यापछि मनोजले त्यसको जिम्मेवारी लिए । लगत्तै व्यवसायीहरूलाई धम्क्याएर पैसा असुल्न थाले । बुटवलबाट मात्र करोडौं उठाए । हुन्डीमार्फत दुबईमा पैसा पठाउन लगाउथे र दुबईबाट भारतमा मगाएर मस्ती गर्दै आएका छन् ।
धेरै पैसा पुनले मात्र राखेपछि बस्नेतसंग दरार सुरु भयो । पुन बस्नेतभन्दा ‘जुनियर केटा’ हुन् । तर, उनको नाम मात्र चर्चा भयो । पैसा पनि उनले नै राख्न थाले ।
त्यहीक्रममा उनीहरूबीच कुटाकुट नै भयो । स्रोतका अनुसार करिब ८ महिनाअघि दिल्लीमा उनीहरूबीच कुटाकुट भएको थियो । जसक्रममा समीरले पुनको नाक नै भाँचिदिएका थिए । यद्यपि, उनीहरूबीच अहिले ठूलो दुस्मनी देखिएको छैन ।
भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड
बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् ।
उनको उद्देश्य नै चर्चित माफिया डन दाउद इब्राहिमजस्तो भूमिगत भएर पैसा कमाउने थियो । उनले त्यही सिको गरे । भारतमा गए । प्रहरीलाई कसरी प्रविधिमा झुक्याउन सकिन्छ, सिके । त्यसपछि नेपालमा व्यवसायीहरूलाई धम्क्याउन थाले ।
केही व्यवसायीले हुन्डीमार्फत उनलाई फिरौती दिए, केहीले दिएनन् । त्यसपछि अरूलाई तर्साउन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या योजना बनाए । तिवारीसँग उनको व्यक्तिगत रिस पनि थियो ।
सोहीकारण उनले तिवारीलाई आफ्नो निशाना बनाए । लगत्तै उनले आफूले हत्या गरेको भन्दै इप्रका बुटवलका तत्कालीन डिएसपी मुकुन्द मरासनीलाई फोन गरी पुनले जिम्मा लिएका थिए । प्रहरीले एक महिना लामो अनुसन्धानपछि उनका सहयोगीलाई पक्राउ गर्यो, तर पुनलाई पक्राउ गर्न सकेन । उनलाई पक्राउ गर्न पटकपटक प्रहरी भारत गए पनि सफल हुन सकेन ।
प्रहरीले पाएको सूचनाअुनसार उनले अर्कै नाममा भुटानी पासपोर्ट बनाइसकेका छन् । सोही पासपोर्ट प्रयोग गरी उनी विदेश जाने गर्दछन् । त्यस्तै उनी रसियन प्रेमिकासँग बस्दै आएका छन् ।
पक्राउ पर्ने डरले उनी फोन प्रयोग गर्दैनन्, भारतकै विभिन्न सहरहरूमा घुम्ने गरेका छन् । उनलाई भारतमा केही व्यक्तिहरूले समेत संरक्षण गरेको आकलन गरिएको छ । आजको नयांपत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।





प्रतिक्रिया