कालजयी सिनेमा बनाउने गुरु दत्तको वियोगान्त जीवन

कालजयी सिनेमा बनाउने गुरु दत्तको वियोगान्त जीवन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दर्शकहरूलाई सुन्दर सिनेमामार्फत असहज वास्तविकताको सामना गर्न आमन्त्रित गर्ने कलाकारको रूपमा गुरु दत्तलाई चिनिन्छ ।

उनी सिनेमामार्फत् दर्शकलाई जति हसाउँथे, मनोरञ्जन दिलाउँथे, उनको जीवन भने वियोगान्त थियो ।

दत्त भारतमा प्रतिभाशाली निर्देशक तथा अभिनेता थिए । गुरु दत्तको सन् १९६४ मा निधन हुँदा उनी ३९ वर्षका मात्र थिए । तर उनले चलचित्र क्षेत्रमा यस्तो प्रभाव छाडेका थिए कि त्यो उनको अवसानपछि पनि दशकौँसम्म मानिसहरूलाई प्रभावित पार्ने खालको थियो ।

उनी सन् १९२५ जुलाई ९ मा भारतको दक्षिणी राज्य कर्नाटकामा जन्मिएका थिए । गतसाता उनको जन्म शतवार्षिकी पनि मनाइएको छ ।

ती सफल र प्रभावशाली चलचित्रकर्मीको क्यामेरा पछाडिको जीवनबारे भने कमैलाई थाहा छ । उनको भावनात्मक र मानसिक संघर्षको कथा खासै उजागर हुन सकेको छैन ।

उनले बनाएका ‘प्यासा’ र ‘कागज के फूल’ जस्ता हिन्दी सिनेमा फिल्म स्कूलमा कालजयी मानिन्छन् । उनले ती चलचित्रहरूमा गहिरो आत्मपरक र आत्मनिरीक्षणात्मक शैलीको प्रयोग गरे । त्यो स्वतन्त्रतापछिको भारतका निम्ति नवीन शैली थियो ।

जटिल पात्र, असहज वास्तविकता

उनका जटिल पात्रहरूले प्रायः उनको व्यक्तिगत संघर्षलाई प्रतिबिम्बित गर्थे । उनका प्लटहरूले विश्वव्यापी आकृतिहरूलाई छुन्थे र उनी सुन्दर सिनेमामार्फत दर्शकहरूलाई त्रासदीपूर्ण सहज वास्तविकताको संसारमा पुर्‍याइदिन्थे ।

दत्तको सुरुआत विनयी थियो तर उनको बाल्यकाल आर्थिक कठिनाई र अशान्त पारिवारिक पृष्ठभूमिमा बित्न पुग्यो ।

उनको परिवार कामका लागि पूर्वी भारतको बंगालमा सरेपछि हुर्किँदै गरेका दत्त त्यस क्षेत्रको संस्कृतिबाट गहिरो रूपमा प्रभावित र प्रेरित भए । त्यसले उनको पछिल्लो जीवनमा चलचित्रसम्बन्धी दृष्टिकोणलाई आकार दिन भूमिका खेल्यो ।

सन् १९४० को दशकमा बम्बई फिल्म उद्योगमा प्रवेश गरेपछि उनले आफ्नो थर पादुकोण त्यागे । उनको फिल्मी करिअर निर्देशकको नभई कोरियोग्राफरको रूपमा सुरु भएको थियो ।

दत्तले आफ्नो गुजारा चलाउन टेलिफोन अपरेटरको रूपमा पनि काम गरे । दशकको अशान्ति र अनिश्चितताबीच भारतमा स्वतन्त्रताको आन्दोलन तीव्र भएको थियो र त्यसले फिल्म निर्माताका आकांक्षीहरूलाई पनि असर गर्‍यो ।

त्यही चरणमा उनले ‘कश्मकश’ लेखे । कलात्मक निराशा र सामाजिक मोहभङ्गको जरा कहाँ गाडिएको छ भन्ने कथा त्यसमा उतारिएको छ । सोही कथामा आधारित ‘प्यासा’ उनको चलचित्र करिअरको ‘मास्टर पिस’ बन्न पुग्यो ।

सहकर्मी तथा तत्कालीन अवस्थामा चलचित्र क्षेत्रका लागि संघर्षरत देव आनन्दसँग दत्तको मित्रताले उनले सन् १९५१ मा आफ्नो पहिलो फिल्म निर्देशन गर्ने मौका पाए । पछि देव आनन्द चाँडै नै एक उत्कृष्ट अभिनेताको रूपमा प्रसिद्ध बन्न पुगे । त्यस बेला नोअर थ्रिलर ‘बाजी’ चलचित्रले उनलाई चर्चामा ल्यायो ।

पहिलो प्रेम र सफल चलचित्र

उनी तत्कालीन समयकी प्रसिद्ध गायिका गीता रोयसँग प्रेममा परे । धेरै सन्दर्भ सामग्री र व्यक्तिहरूका अभिव्यक्तिअनुसार उनी प्रेममा परेका प्रारम्भिक वर्षहरू उनका लागि सबैभन्दा खुसीका वर्ष थिए ।

दत्तले आफ्नै फिल्म कम्पनी सुरु गरेपछि ‘आर–पार’ र ‘मिस्टर एन्ड मिसेस ५५’ जस्ता सफल रोमान्टिक कमेडी फिल्महरू बनाए । दुवै फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत भएका थिए ।

तर उनले कलात्मक गहिराइको चाहनामा ‘प्यासा’ बनाउने योजना बनाए र त्यो उनलाई परिभाषित गर्ने फिल्म बन्न पुग्यो । उक्त फिल्मले भौतिकवादी संसारमा कलाकारको संघर्षलाई उजागर गरेको थियो । उक्त फिल्म पछि टाइम पत्रिकाको २०औँ शताब्दीका १०० उत्कृष्ट फिल्महरूको सूचीमा पर्ने एक मात्र हिन्दी फिल्म बन्यो ।

दत्तकी दिवङ्गत कान्छी बहिनी ललिता लाजमीले ‘प्यासा’ आफ्ना दाइको ‘सपनाको परियोजना’ थियो बताएकी थिइन् ।

उनी पटकथा र संवादहरूमा धेरै परिवर्तन गरिरहन्थे र क्यामेराको प्रयोग र प्रविधिमा पनि विभिन्न नयाँ प्रयोगहरू गरिरहन्थे ।

आत्महत्याको प्रयास

काम राम्रो नहुँदा र बिग्रिदा उनी चिच्याउँथे र रिसाउने गर्थे, उनलाई निद्रा लाग्न छाडेको थियो । उनको निर्भरता मदिरामा सुरु भएको थियो । सबैभन्दा खराब अवस्थामा उनले आफ्नो ह्विस्कीमा मिसाएर निद्राको चक्की प्रयोग गर्न थाले ।

सन् १९५६ मा उनको सपनाको परियोजना पूरा हुन लागेको र उनको उमेर ३१ वर्ष भएका बेला दत्तले आत्महत्याको प्रयास गरेका थिए ।

तर उनी अस्पतालबाट फर्किएपछि पनि परिवारले कुनै व्यावसायिक सहयोग खोजेनन् ।

सन् १९५७ मा रिलिज भएको ‘प्यासा’ आलोचनात्मक र व्यावसायिक रूपमा सफल भएपछि दत्तलाई चर्चाको शिखरमा पु¥यायो । तर पनि उक्त फिल्मका निर्माता उनी उक्त सफलतापछि पनि प्रायः आफू शून्य भएको भावना व्यक्त गर्थे ।

दत्तका फिल्म र उनको व्यक्तिगत जीवनबीच एउटा अनौठो विरोधाभास थियो । उनले आफ्ना फिल्ममा प्रायः कडा, स्वतन्त्र र स्वच्छन्द महिलाको चित्रण गर्थे तर पर्दाबाहिर उनको स्वभाव त्यस्तो थिएन ।

दत्तले आफ्नी श्रीमतीले बढी परम्परागत भूमिकाहरू निभाउन् भन्ने अपेक्षा गर्थे र उनले आफ्नो कम्पनीबाट बनेका फिल्ममा मात्र गाउन् भन्ने चाहन्थे ।

‘प्यासा’को सफलताबाट उत्साहित भएर उनले त्यो आफ्नै नियमलाई बेवास्ता गरे र सबैभन्दा महँगो तथा आफ्नै अर्ध–आत्मकथामा आधारित ‘कागज के फूल’ फिल्म बनाउन तम्सिए ।

उक्त फिल्म एक जना चलचित्र निर्माताको समस्यापूर्ण विवाह र आफ्नै चिन्तनसँगको भ्रमित सम्बन्धको कथामा बनेको छ ।

अहिले कालजयी चलचित्रका रूपमा प्रशंसा गरिए पनि त्यति बेला उक्त चलचित्र व्यावसायिकरूपमा असफल भएको थियो । उक्त झट्काबाट दत्त कहिल्यै बाहिर निस्कन सकेनन् ।

‘कागज के फूल’ पछि उनले फेरि कहिल्यै फिल्म निर्देशन गरेनन्।

पुनरागमन

समय बितेसँगै उनको कम्पनीले पुनरागमन गर्‍यो र उनले आफ्नो करिअरको सबैभन्दा व्यावसायिक रूपमा सफल चलचित्र ‘चौदहवी का चाँद’ बनाएर निर्माताका रूपमा पुनः चलचित्र उद्योगमा उदाए ।

त्यसपछि उनले आफ्ना विश्वसनीय पटकथा लेखक अबरर अल्वीद्वारा निर्देशित ‘साहिब बीबी और गुलाम’ बनाउन सुरु गरे ।

त्यस बेलासम्म उनको व्यक्तिगत जीवनमा गम्भीर उथलपुथल भएको थियो र उनको मनस्थिति बारम्बार परिवर्तन भइरहन्थ्यो ।

फिल्ममा प्रेमहीन विवाहमा फसेकी र व्याभिचारको सिकार भएर एकान्तवासमा बस्न बाध्य एक महिलाको कथा प्रस्तुत गरिएको छ । त्यसमा सामन्ती संसारको एक धनी तर अत्याचारी घरबेटीसँग उनको साक्षात्कार भइरहन्छ ।

उनलाई समयमा निद्रा नलाग्ने र निद्राका लागि औषधिको भर पर्नु अवस्थमा उनको विवाह ध्वस्त भइसकेको थियो र मानसिक स्वास्थ्य बिग्रिएको थियो ।

दत्त अस्पतालबाट फर्किएको केही दिनपछि ‘साहिब बीबी और गुलाम’को छायाङ्कन फेरि सुरु भयो र त्यस बेला उनलाई केही भएकै छैन जस्तो माहौल थियो ।

उक्त फिल्म पनि सफल भयो र सन् १९६३ को बर्लिन फिल्म फेस्टिभलमा भारतबाट आधिकारिक रूपमा प्रवेश गर्ने फिल्म बन्यो अनि राष्ट्रिय पुरस्कार पनि जित्यो ।

दत्तको व्यक्तिगत जीवनमा संघर्ष बढ्दै गयो । उनी आफ्नी श्रीमतीबाट अलग भए । फिल्महरूमा अभिनय गरिरहे पनि उनले गहिरो एक्लोपनसँग लड्नुपर्‍यो अनि उनले प्रायः आरामका लागि रक्सी र निद्रा लाग्ने औषधिको सहारा लिनुपर्‍यो । सन् १९६४ अक्टोबर १० मा ३९ वर्षीय दत्त आफ्नो कोठामा मृत फेला परे ।

सिनेमामा चासो राख्नेहरू प्रायः सोच्ने गर्छन्–यदि उनी लामो समयसम्म बाँचेका भए के हुन्थ्यो होला? सायद उनले आफ्नो दूरदर्शी, काव्यात्मक कृतिहरूद्वारा भारतीय सिनेमाको परिदृश्यलाई पुनः आकार दिने कार्यलाई जारी राख्ने थिए ।