काठमाण्डु उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु


काठमाण्डु  – काठमाण्डु उपत्यका विकास प्राधिकरणले काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाण्डु उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए ।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाण्डु उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए । गुरुयोजनाअनुसार काम गर्न काठमाण्डु उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ ।

एकीकृत योजनाअनुरुप काम भए-नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ । एकीकृत योजना बनाउन नौ करोड बजेट विनियोजन गरिएको छ । एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement