काठमाण्डु- कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताएका हुन् ।
‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ । त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन । बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’, उनले भने ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताउदैँ आएका छन् । गत पुस १० गते अगाडि नै उनले आफ्नो कार्यकालको दोस्रो वर्ष सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका थिए ।
कार्यसम्पादन मूल्यांकनअनुसार बितेको एक वर्षमा केही मन्त्रीको ‘रिपोर्ट कार्ड’ निकै कमजोर देखिएको समीक्षासँगै प्रचण्डले दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीबाट गर्न खोजेको दाबी गरेका थिए । एक महिना बितिसक्दा पनि उनले मन्त्रिपरिषद् हेरफेर गरेका छैनन् । कानून मन्त्री गुरुङले बताए अनुसार प्रचण्ड कार्यक्रममा मात्र मन्त्रिपरिषद् हेरफेर गर्छु भन्दै हिडिरहेका छन् । तर, सत्ता गठबन्धनभित्र भने उनले यसबारे छलफल नै गरेका छैनन् ।




प्रतिक्रिया