गुठी विद्येयक स्थगित गरौंः योगेश भट्टराई


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्ने कोशिस नै नगरेको भन्दै विधेयक स्थगित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन्, आगोमा रोटी सेक्न अवान्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनु भयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’

केही गलत पक्षले गुठी विधेयकको आन्दोलनमार्फत साम्प्रदायिक सद्भावमाथि धावा बोल्न खोजेको उनको आरोप छ ।

साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याउन सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement