काठमाण्डु- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर तयार भएको छ । अब चार दिनपछि फ्लाईओभरमा गाडी गुड्न थाल्ने छ ।
फ्लाईओभरको मुख्य संरचना निर्माण सकिएसँगै सवारी साधन सञ्चालनको तयारी थालिएको छ ।
फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुनेछ भने ट्राफिक व्यस्थापन पनि चुस्त हुनेछ ।
असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि फ्लाईओभरबाटै सवारी साधन सञ्चालनमा आउनेछ ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले ग्वार्को फ्लाईओभरको स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी । उद्घाटनको सन्दर्भमा छलफल गरेको थियो ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार मुख्य संरचनाको निर्माण सकिएको छ । अहिले लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका कामहरू चलिरहेको छ ।
अहिले भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भइरहेको छ । आशिष समानान्तर रेलिगेर जेभी काठमाडौँले फ्लाई ओभर निर्माणको काम गरीरहेको छ । प्रमुख बाराहीले अब फ्लाईओभर भएरै सवारी सञ्चालनका लागि तयारी अवस्थामा पुगेको बताए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसके पछि सरकारको पटक पटक दबाबले ठेकेदार कप्म्पीले छिटो काम सकेको हो ।
रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाममा रोकिनु नपर्ने गरी सरकारले ईपीसी मोडलमा २०७८ फागुन १२मा निर्माण कम्पनी आशिष समानान्तर जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० फागुन ११ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा फ्लाईओभर निर्माण भएको हो ।




प्रतिक्रिया