जापानबाट ज्ञानबहादुर शाहीले लगाए रवि, बालेन र सुधनमाथि अनेक आरोप

जापानबाट ज्ञानबहादुर शाहीले लगाए रवि, बालेन र सुधनमाथि अनेक आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि जापानमा भौतिक आक्रमण नभएको प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले सात्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले कुटपिट भएको भ्रम फैलाएको भन्दै आक्रोश पोखे ।

भिडियोमा शाहीले रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङमाथि संगीन आरोप लगाएका छन् ।

शाहीले प्रधानमन्त्री शाहलाई ‘सिंहदरबार जलाएर आएको’ र गाँजा खानेजस्ता अपाच्य शब्द प्रयोग गरेका छन् । यस्तै सभापति लामिछानेलाई ‘जेल तोडेर भागेको सहकारी ठग’ भनेका छन् । गृहमन्त्री सुधन गुरुङमाथि ‘खराने’ र ‘टिओबी ग्याङ’ को आरोप लगाएका छन् ।


आफूले कर्णालीमा भीरमा अड्किएर मानिस मरेको र आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका मुगुका गणेश विकलाई प्रहरीले लछारपछार गरेको तथा उपचारका लागि कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा नलगी वीर अस्पताल लगिएको विषयमा गृहमन्त्री गुरुङमाथि संसदमा प्रश्न उठाएका कारण स्वदेश र विदेशमा रहेका रास्वपा कार्यकर्ताले कहिले मरेको र कहिले आक्रमणमा परेको जस्ता निराधार हल्ला फैलाएको शाहीले उल्लेख गरेका छन् ।


‘हामी सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग संघर्ष गरेर आएको हो । दमका साथ भन्छु , यदि तिमीहरुसँग दम छ भने स्पष्ट कुराका साथ म भन्छु तिमीहरुलाई दम छ भने तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा जवाफ देऊ भन । छ दम ? ल जवाफ देउ भन’, शाहीले भनेका छन्, ‘हामी क्लियरका साथ भन्छु । सडक छापहरुको पछाडि लागेर केही हुनेवाला छैन । म अहिले के भन्न आएको भने जापानमा म सुरक्षित छु । जापानमा भोलि पनि कार्यक्रम छ । आज पनि भव्य कार्यक्रम भएको छ । र, म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरु । म तिमीहरुजस्तै खराने ग्याङ, सहकारी ठगहरुको ग्याङm जँगेडीहरुको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरुसँग लडेर आएको हो ।’


कर्णालीमा आफ्ना मान्छे भीरमा अड्किएर मरेपछि प्रश्न गर्न पाउने अधिकार आफूलाई भएको र प्रश्न सोध्ने उनको भनाइ छ । उनले जनताको प्रश्न सोध्दा आफूमाथि आक्रमणको हल्ला चलाएको र होइन भन्ने प्रष्टीकरण दिँदा असभ्य भएको आरोप लगाइएको गुनासो गरे । गृहमन्त्री पनि आफूजस्तै सांसद भएकाले उनीमाथि प्रश्न सोधिने र सोध्न पाउनुपर्ने तर्क उनको छ ।

‘प्रश्न सोध्ने मेरो अधिकार हो, म सोध्छु । गृहन्त्रीलाई सोध्छु, सुधनलाई अगाडि राखेर सोध्छु । को हो ऊ ? एउटा सांसद हो । हामी पनि सांसद हो’, शाहीले भनेका छन्, ‘ अहिले पनि म भन्छु जहाँ छौ, जुनसुकै ठाउँमा छौ । दारु खाएर हिंड्न चार जना श्रीमतीको श्रीमान होइन म बुझ्यौ ? अहिले यो हल्ला फैलाएका छन्, जसरी जापानमा अरुमाथि आक्रमण गरे भन्ने कुरा भएको छ । मर्यादाहीन भन्दो रहेछ एउटा । सहकारी ठगेर जेलबाट भाग्ने चाहिं मर्यादा पालक, गाँजा खाएर सिंहदरबार आगो झेस्ने चाहिं मर्यादापालक, अनि तिमी ‘घण्टे’ हरुले मान्छेमाथि हुँदै नभएको आक्रमणलाई आक्रमण भएको भनेर हल्ला फैलाउनेलाई जवाफ दिँदा चाहिं हामी असभ्य ? सभ्य हौं हामी ।’

खुश्बु ओलीमाथि गलत टिप्पणी गरेका रास्वपाका एक कार्यकर्ता पक्राउ परेको प्रसंग उल्लेख गर्दै शाहीले घण्टीका ‘असभ्य’ कार्यकर्ता अरुलाई पनि थुनाउने चेतावनी दिए । शाहीले प्रतिस्पर्धा गर्न मन भए चुनाव लड्न आउन चुनौती दिए । आफूले रास्वपाको सहयोगले नभई रास्वपालाई पत्तासाफ गरेर चुनाव जितेको उनको भनाइ छ ।

‘सभ्य हुनुस् तपाईंहरु, सभ्य हुन सिक्नुस् । यदि प्रतिस्पर्धा गर्ने हो भने मज्जाले प्रतिस्पार्ध गरौं । आऊ प्रतिस्पार्ध गर । चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्तासाफ गरेर जित्या हो । याद गर तिमीहरु’, शाहीले भने । २१ फागुनको निर्वाचनमा शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेकी रास्वपा पूर्वसांसद् विनिता कठायतको जमानत जफत भएको थियो ।

जपानमा आफूबारे अनर्लग हल्ला फैलाउने रास्वपा समर्थकमाथि उनले ‘कन्सल्टेन्सीका नाममा ठगी गर्ने’हरुको संज्ञा दिए ।

‘जापानमा मलाई केही पनि भएको छैन, हामी सुरक्षित छौं । यिनीहरुले जापानमा हामीमाथि केही गर्न सक्दैनन् । आक्रमण त के उठेर एउटा प्रश्न मात्र गरे भने जापानमा भएका मान्छेले यिनहरुलाई समातेर डिपोट गर्नेवाला छन्’, शाहीले भने, ‘कन्सल्टेन्सीका नाममा ठगी गर्नेहरु धेरै ‘घण्टे’ (रास्वपा) छन् यहाँ । जापानमा आक्रमण भयो भनेर हल्ला फैलाइराखिएको छ, म सुरक्षित छु, र अहिले पनि स्पष्टका साथ भन्छु तथ्यहीन समाचार नबनाऊ ।’


आफूलाई रास्वपा कार्यकर्ताले जापान आउन नदिने धम्की दिए पनि रास्वपाकै सांसद खगेन्द्र सुनारलाई अगाडि राखेर आफूले आमसभामा सम्बोधन गरेको शाहीले बताए ।

उनले आफू कहिल्यै प्रश्नसँग भाग्ने मान्ने नभएको तर्क गरे । आफूलाई राष्ट्रवादी घोषणा गर्दै शाहीले छाती खोलेर लड्न तयार रहेको चुनौती पनि दिए ।

‘म प्रश्नसँग भाग्ने ममान्छे होइन, म प्रश्नसँग भाग्न सहकारी ठगेर आएको हो ? म टिओबी ग्याङ्को सदस्य हो ? म प्रश्नसँग भाग्नका लागि ‘खरानी ग्याङ’ को सदस्य होइन साथी हो । म राष्टवादी हुँ, छाती खोलेर लड्न सक्छु’, उनले भने ।