खेद प्रस्ताव पारित गरेपछि ज्ञानेन्द्र शाहीको आक्रोश : राष्ट्रिय सभालाई बालआश्रम भन्नु त ?

खेद प्रस्ताव पारित गरेपछि ज्ञानेन्द्र शाहीको आक्रोश : राष्ट्रिय सभालाई बालआश्रम भन्नु त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले वृद्ध आश्रम भनेकोप्रति आपत्ति जनाउँदै राष्ट्रियसभा बैठकले खेद प्रस्ताव पारित गरेपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

आईतबारको राष्ट्रियसभा बैठकले सांसद शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । तर उनले आईतबार साँझ आक्रोशित हुँदै फेसबूकमा लेखेका छन्, ‘वृद्धाआश्रमलाई के बालआश्रम भन्नु त ?’

उनले राष्ट्रिय सभालाई चुनाव हारेका हरुवा चरुवालाई भर्ती गर्ने केन्द्रको संज्ञा पनि दिएका छन् । उनले लेखेका छन्, ‘चुनाव हारेका हरुवा–चरुवालाई भर्ती गर्ने केन्द्र राष्ट्रियसभा बनाएपछि हामीले हरुवा–चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ? मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस् । हरुवा, चरुवा वृद्राश्रममा जाने बाजेबजैलाई घरमा गएर आफ्ना नाति नतिनालाई खेलाएर बस्न भन्नुहोस् । तर राष्ट्रिय सभालाई हामी युवाहरूको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस् ।’

राष्ट्रिय सभाको आईतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर विचार सम्प्रेषण गर्न निर्देशन दिएका थिए । खेद प्रस्तावमा भनिएको थियो, ‘निज माननीय सदस्यले कपोकल्पित, झूटा र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ ।’