पूर्व राजा ज्ञानेन्द्रको गुनासो : दरबार हत्याकाण्डका विषयमा भ्रम फैलाइयो

पूर्व राजा ज्ञानेन्द्रको गुनासो : दरबार हत्याकाण्डका विषयमा भ्रम फैलाइयो


काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयलाई लिएर आफ्नो र परिवारबारे भ्रम फैलाइएको गुनासो गरेका छन् ।

आज शनिबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले २०५८ जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको टिप्पणी गरे ।

आफ्नो र आफ्नो परिवारलाई घातक प्रहार भएको पनि उनले बताए ।

उनले भनेका छन्, ‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रा परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए ।’

सत्य सधैं सत्य नै रहने भन्दै पूर्व राजा शाहले प्रत्यक्षदर्शी हुँदाहुँदै पनि अज्ञानता र छलले अझै पनि बहकिरहेको विषय अन्यायपूर्ण मात्रै नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताए ।

दरबार हत्याकाण्डमा पूर्व राजा ज्ञानेन्द्रलाई पनि आरोपित गर्ने गरिएपछि उनले प्रस्टीकरण दिएका छन् ।