काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीले नै राख्न निर्देशन दिएको दाबी गरेका छन् ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो आइतबार राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ ।’
नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि प्रधानमन्त्रीले यस्तो गरेको शाहीको दाबी छ ।
उनले लेखेका छन, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स, लेलिन, माओ कुन देशका हुन ?’
आइतबार पूर्वराजाको स्वागतमा राजावादीहरूले उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्बिर बोकेका थिए ।





प्रतिक्रिया