नयाँ वर्षमा पूर्वराजाको सन्देश: कोरोनाबाट सिर्जित समस्याको मिलेर सामना गरौं !

नयाँ वर्षमा पूर्वराजाको सन्देश: कोरोनाबाट सिर्जित समस्याको मिलेर सामना गरौं !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसबाट सिर्जित समस्याविरुद्ध एकतावद्ध भएर चुनौतीको सामना गर्न आह्वान गरेका छन् ।

नयाँ वर्ष विस.२०७७ को आइतबार शुभकामना दिँदै पूर्व राजा शाहले कसैलाई पनि निषेध गरेर जान नहुनेमा जोड दिएका छन् ।

एकले अर्कोलाई निषेध गर्ने सोचको आयु समाप्त भएको बताउँदै पूर्वराजा शाहले राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकिएन भने इतिहासमा अर्को एउटा महाभूल हुने दाबी गरेका छन् ।

‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ,’ उनले भनेका छन् ।

मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनुपरेको कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ को आगमन भएको बताउँदै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे–बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त अवस्थमा रहेको उल्लेख गरेका छन् ।

‘यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनुपर्दछ,’ उनले भनेका छन्, ‘नेपाली जनता खुसी र सुखी रहून् एवम् देशको शिर सधैँ सगरमाथाझैँ उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ ।’

उनले मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको वेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेको पनि बताएका छन् ।

कोरोना भाइरसको वर्तमान संक्रमणले हाम्रा पुर्खाले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवनपद्धति सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगत्ले स्वीकार गरेका पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् ।