काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको टिप्पणी गरेका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले परिवर्तनलाई जनताले आफ्नो दैनिक जीवनमा अनुभुति गर्न सक्नेखाले हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले नेपालजस्तो मुलुकमा प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन् । देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । ‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ प्रश्न गरेका छन् ।
शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उनले प्रस्ट पारेका छन् । उनले राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया