नागरिक अभिनन्दनमा पूर्व राजा शाहले भने -देश खोक्रो पारियो, नेपाललाई सबैले हेप्न थाले

नागरिक अभिनन्दनमा पूर्व राजा शाहले भने -देश खोक्रो पारियो, नेपाललाई सबैले हेप्न थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा खिया लाग्दै सबैले हेप्न थालेको गुनासो गरेका छन् ।

बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले देश बनाउनका लागि सबै एकै ठाउँमा उभिएर मिल्नुपर्ने बताए ।

उनले भने, ‘सबैले हेप्ने, छड्के आँखाले हेर्ने र आफूहरू अपमानित बन्दै गएको स्वाभिमानी नेपाली जनताको अनुभूति छ । हाम्रा बूढापाकाको विचार भन्नुपर्दा राष्ट्रको अस्थित्वमाथि खिया लाग्दै गइरहेको छ, हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेका छौं ।’

पूर्व राजा शाहले आफू जता पुग्दा पनि देश बनाऔं र बचाऔं भन्ने आवाज सुनिरहेको बताए । ‘आज यहाँ उभिएर भन्दछु, म बोलिरहेको छु– देश बनोस्, बचोस् भन्ने पुर्ख्यौली इच्छा आकांक्षा पोखिरहेको छु ।’

पूर्व राजा शाहले आफूले जनताका दुःख–पीडालाई नियालिरहेको बताए । ‘म कतै अन्त गएको छैन, सदासदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख–दुःख, असुविधा, बाधा, पीडा तथा हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको छु,’ उनले भने ।

बेरोजगारी, गरीबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले युवा जनशक्ति विदेशिनुपरेको अवस्थाले देश जर्जर भएको पूर्व राजा शाहले चिन्ता व्यक्त गरे । ‘देशको माया नभएर होइन, अवस्था बिग्रेर, आक्रोश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ । देशमै उद्यम, इलमको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पारिरहने आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ ।’