पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राप्रप्राका नाै नेतासँग झापाकाे चियाबगानमा तीनघण्टा गोप्य छलफल


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै घटकका नेताहरुले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेटवार्ता गरेका छन् । २० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका शाहसँगको भेटमा राप्रपाको तर्फबाट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह सहभागी थिए ।

यसैगरी पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बाट महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्य थिए । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलपनि सहभागी रहेको स्रोतले बतायो ।

गत निर्वाचनमा पराजय बेहोरेका तीनै राप्रपाका नेताहरु यतिबेला पार्टी एकताको प्रयासमा छन् । यस्तो बेला नौ नेताहरुले झापा पुगेर पूर्वराजासँग गरिएको भेट अर्थपूर्ण मानिएको छ । पूर्वराजासँग भेट गरेका उपरोक्त नेताहरु पार्टी अध्यक्षसँग त्यति सन्तुष्ट छैनन् । त्यसैले, अध्यक्षहरुलाई विस्थापित गर्ने योजनास्वरुप पूर्वराजासँग भेट गरेको हुनसक्ने स्रोतको दावी छ ।

पूर्वराजाको भनाई उद्दृत गर्दै स्रोतले भन्यो, ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’ पूर्वराजासँगको भेटमा राप्रपाका तीनवटै गुटका नेताहरुले आ–आफ्नो पार्टीको शीर्ष नेतृत्वको आलोचना गरेका थिए । ठूला नेतावीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको नेताहरुले पूर्वराजालाई गुनासो सुनाएका थिए ।

उनीहरुले गत निर्वाचनमा तीनै पार्टीले भोगेको पराजय र कारणबारे पूर्वराजालाई जानकारी गराएका थिए । चुनावी परिणामप्रति शाहले पनि चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement