एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड


काठमाण्डु – ऊर्जा विज्ञहरूले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालले मंगलवार आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने ऊर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक २ खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रूपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताए ।

सरकारी तथ्यांकअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको संख्या ८७ दशमलव १ प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग ० दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

ग्यासभन्दा विद्युतीय चुलोको प्रयोग निकै सस्तो हुने विज्ञको तर्क छ । कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा) का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । विद्युत् आपूर्ति सुनिश्चित भए धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement