काठमाण्डु-उपत्यकामा हैजा संक्रमण बढेको छ । यो साता थप ९ जनामा हैजा पुष्टि भएको छ । गत सोमवारसम्म देशभरिमा कुल संक्रमित संख्या ५८ जना थिए भने शुक्रवार थप ९ जना गरी कुल संक्रमित संख्या ६७ जना पुगेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ललितपुरमा ६ जना र काठमाडौंमा ३ जना गरी ९ जना संक्रमित थपिएका हुन । संक्रमित मध्येका केहीको उपचार भइरहेको र केही निको भई डिस्चार्ज भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए ।
थप संक्रमित सहित ललितपुरमा मात्र हैजा संक्रमितको संंख्या ४७ पुगेको छ । ललितपुरमा हैजा संक्रमितको संख्या उच्च रहेको हो । ललितपुर पछि दोस्रोमा काठमाडौंमा १० जना, तेस्रोमा कैलालीमा ८ जना, प्युठानमा २ जनामा हैजा पुष्टि भएको हो ।
उपत्यकामा गत वर्षको तुलनामा हैजाले महामारीकै रुप लिएको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए ।
यो वर्ष धेरै पानी परेको र बाढीको कारण पानीको मुहान दूषित भएकोले हैजा संक्रमण नरोकिएको उनले बताए । संक्रमितहरू धेरै जसोले सुरक्षित जारको पानी पिएको दाबी गरे पनि फलफूल या सलाद पखाल्दा, भाँडा सफा गर्ने ट्याङ्कर या धाराको पानी दूषित भएको हुन सक्ने बताएका छन् ।




प्रतिक्रिया